जनकपुरधाम, ०७ जेठ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलको बैठकले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेको छ ।

पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेपालका प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेशमा राजनीतिक स्थायित्व, विकास निर्माण र जनअपेक्षा पूरा गर्नका लागि आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

उनले प्रदेशमा बारम्बार देखिने राजनीतिक अस्थिरताले विकासका काम प्रभावित भइरहेको उल्लेख गर्दै अहिलेको अवस्थामा जिम्मेवार भूमिका निर्वाह गर्नु आवश्यक रहेको धारणा राखे ।

‘जनताको हित, सुशासन र प्रदेशको समृद्धिलाई केन्द्रमा राखेर हामीले निर्णय गरेका हौँ,’महतोले भने ।

महतोका अनुसार सरकारलाई समर्थन गर्नुको अर्थ गलत काममा मौन समर्थन नभई जनताका मुद्दामा खबरदारीसहित सहकार्य गर्नु रहेको छ ।

उनले मधेश प्रदेशको विकास, रोजगार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्या समाधानमा सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।

यसअघि जनता समाजवादी पार्टी नेपालभित्र विश्वासको मतबारे विभिन्न अड्कलबाजी भइरहेका बेला संसदीय दलको बैठकले एकमतका साथ निर्णय गरेपछि मधेश प्रदेश सरकारलाई थप राजनीतिक बल पुगेको छ ।