दाइजोको दबाबपछि नवविवाहिताको शंकास्पद मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

महोत्तरी, ०७ जेठ । महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सादेवाडमा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएपछि दाइजोको विषयलाई लिएर हत्या गरिएको आरोप लागेको छ ।
घटनापछि प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–७ बसन्तपुर निवासी रामज्ञान मण्डलकी छोरी रञ्जिता मण्डलको विवाह गत फागुन १४ गते महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सादेवाड निवासी विजय मण्डलका छोरा रमेश मण्डलसँग भएको थियो । विवाह भएको तीन महिना नपुग्दै मंगलबार साँझ रञ्जिताको मृत्यु भएको हो ।
परिवारका अनुसार रञ्जिताले घरमै पासो लगाएर आत्महत्याको प्रयास गरेको भन्दै उनका श्रीमान्ले तत्काल उपचारका लागि रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पताल पुर्याएका थिए । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
तर, माइती पक्षले भने यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेको छ । मृतककी आमा कौशिल्या देवी मण्डलका अनुसार विवाहपछि पनि ससुराली पक्षबाट पटक पटक दाइजोको दबाब दिइँदै आएको थियो ।
उनले केही दिनअघि छोरीसँग फोनमा कुरा हुँदा ‘माइतबाट भैंसी लिएर आउ’ भनेर दबाब दिइएको जानकारी दिएको बताइन् ।
विवाहका क्रममा नगद १० लाख रुपैयाँसहित सुनचाँदी र अन्य सामग्री दिइसकेको अवस्थामा थप दाइजो दिन नसक्ने बताएपछि छोरीमाथि कुटपिट हुन थालेको उनको आरोप छ ।
‘दाइजो नल्याएको भन्दै छोरीलाई मानसिक र शारीरिक यातना दिइँदै आएको थियो । अन्ततः हत्या गरियो,’ उनले भनिन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी हेरम्ब शर्माले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार सोधपुछका लागि मृतकका श्रीमान्लाई नियन्त्रणमा लिइएको छ ।
‘घटना हत्या हो वा आत्महत्या भन्ने विषय पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै स्पष्ट हुन्छ,’ एसपी शर्माले भने, ‘शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ ।’
घटनापछि मृतकको ससुराली परिवारका अन्य सदस्य भने सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


