जनकपुरधाम, ०७ जेठ । धनुषाको मिथिला नगरपालिका–९ स्थित बडहरी खोलामा भइरहेको ग्राभेल उत्खनन तत्काल रोक्न माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

बिहीबार स्थानीयले मिथिला नगरपालिकाको कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै केही समय पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका हुन् ।

उत्खननका कारण खेतीयोग्य जमिन जोखिममा परेको, वातावरणीय असर बढेको तथा खोलामा बनेका गहिरा खाडलका कारण दुर्घटनाको खतरा बढेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

आन्दोलनमा सहभागी स्थानीय नागेन्द्र महतोले जथाभावी ग्राभेल उत्खननका कारण नदी आसपासको जमिन भासिने अवस्था सिर्जना भएको बताए ।

उनका अनुसार उत्खननपछि खोलामा गहिरा खाडल छाडिँदा बालबालिका डुब्ने जोखिमसमेत बढेको छ ।

‘स्थानीयको जीवन र वातावरणसँग खेलवाड हुने गरी भइरहेको उत्खनन अब सह्य हुँदैन,’उनले भने, ‘ठेक्का सम्झौता रद्द गरेर भए पनि उत्खनन तुरुन्त बन्द गर्नुपर्छ । अब बडहरी खोलाबाट एउटा ट्याक्टरलाई पनि ग्राभेल लैजान दिँदैनौँ ।’

मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका बडहरी, बसही, औरही, जलाधार र रातु खोलासहित ६ वटा खोलाबाट ग्राभेल उत्खननका लागि काठमाडौँस्थित नेरिसा कन्ट्रक्सन कम्पनी प्रालिलाई तीन करोड पाँच लाख ६२ हजार २७३ रुपैयाँमा ठेक्का दिएको जनाएको छ ।

स्थानीयले माग पूरा नभएसम्म आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन् ।

यता, मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्दनले स्थानीयको गुनासोप्रति नगरपालिका गम्भीर रहेको बताए । उनले आवश्यक कानुनी प्रक्रिया पूरा गरी ठेक्का रद्द गर्ने विषयमासमेत छलफल भइरहेको जानकारी दिए ।