सीमावर्ती सुरक्षा र अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य बढाउने सहमति

जनकपुरधाम, ०६ जेठ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल–भारत सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन द्विपक्षीय समन्वयलाई थप सुदृढ बनाउने सहमति भएको बताएका छन् ।
बुधबार भारतको मधुबनीमा आयोजित नेपाल–भारत सीमा जिल्ला समन्वय बैठकमा महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका प्रशासन तथा सुरक्षा निकायका प्रतिनिधि र भारतको मधुबनी जिल्लाका अधिकारीबीच सीमासम्बन्धी विविध विषयमा छलफल भएको हो ।
बैठकपछि प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी यादवले खुला सीमाका कारण उत्पन्न हुने सुरक्षा चुनौतीलाई दुवै देशका प्रशासन र सुरक्षा निकायबीचको सहकार्यबाट नियन्त्रण गर्न सकिने बताए ।
उनले सीमावर्ती क्षेत्रमा हुने चोरी, तस्करी, लागूऔषध कारोबार, मानव बेचबिखन तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित सूचना आदानप्रदान र संयुक्त समन्वय आवश्यक रहेको उल्लेख गरे ।
उनका अनुसार बैठकमा सीमा क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउने, अपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी बढाउने तथा आवश्यक पर्दा संयुक्त रूपमा कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ ।
बैठकमा सहभागी अधिकारीहरूले सीमापार हुने सामाजिक तथा आर्थिक गतिविधिलाई सहज बनाउँदै सुरक्षा संवेदनशीलतालाई समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
साथै सीमा क्षेत्रमा हुने साना विवादलाई स्थानीय तहबाटै समाधान गर्न र आपसी विश्वासको वातावरण कायम राख्न दुवै पक्ष सहमत भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


