जनकपुर बोल्ट्सको जर्सी बिक्रीबाट हुने आम्दानीको ५० प्रतिशत खेलकुद विकासमा
जनकपुरधाम, ०९ कार्तिक । राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहले खेलकुदको विकास, स्थानीय प्रतिभाको प्रोत्साहन तथा नयाँ खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले जर्सी बिक्रीबाट प्राप्त आम्दानीको ५० प्रतिशत खेलकुद क्षेत्रको विकासमा योगदान गर्ने घोषणा गरेका छन् ।
जनकपुरधामस्थित ‘हरि स्पोट्र्स जोन’बाट बिक्री हुने जनकपुर बोल्ट्सका जर्सीबाट प्राप्त आम्दानीको आधा हिस्सा खेलकुद विकासका लागि योगदान गर्ने घोषणा गरिएको हो ।
यस अभियानमार्फत व्यापारलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै जनकपुरधामसहित समग्र नेपालको खेलकुद क्षेत्रको विकासमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
राष्ट्रिय क्रिकेट खेलाडी साहको यस घोषणाले खेलकुदप्रतिको लगावलाई व्यावसायिक गतिविधिसँग जोडेर स्थानीय स्तरमा खेलाडी उत्पादन तथा प्रतिभा पहिचानका लागि सहयोग पुर्याउने विश्वास गरिएको छ ।
साहले खेलकुदको विकासका लागि खेलाडीको मेहनत र प्रतिभा मात्र पर्याप्त नभई उनीहरूलाई आवश्यक अवसर, प्रोत्साहन र सहयोग पनि उपलब्ध हुनुपर्ने आवश्यकता रहेको बताए । स्थानीय स्तरमा सम्भावना बोकेका खेलाडीलाई अघि बढाउन समाज, व्यवसायी तथा खेलप्रेमीको समेत भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
यस अभियानअन्तर्गत जनकपुर बोल्ट्सको जर्सी खरिद गर्न चाहने खेलप्रेमीले जनकपुरधामस्थित हरि स्पोट्र्स जोनमा सम्पर्क गर्न सक्नेछन् । साथै, देशभरका ग्राहकलाई अनलाइन अर्डर तथा डेलिभरीको सुविधा उपलब्ध रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





