जनकपुरधाम, ०९ कार्तिक । धनुषा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका ३ लाख २२ हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोलीले विभिन्न मिति र स्थानमा गरेको जाँचका क्रममा साडी, लेडिज सुट तथा मोटरसाइकललगायतका सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिइएका सामान आवश्यक कानुनी कारबाहीका लागि सोमबार जनकपुर भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका सामान नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको हो ।

भन्सार छलीबाट हुने राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले सीमावर्ती क्षेत्र तथा विभिन्न स्थानमा निगरानी र जाँचलाई निरन्तरता दिँदै आएको छ ।

खुला सीमाका कारण भारतबाट अवैध रूपमा सामान भित्र्याउने गतिविधि नियन्त्रण गर्नु सुरक्षा निकायका लागि चुनौतीपूर्ण रहँदै आएको छ ।

प्रहरीले भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।