जनकपुरधाम, ०९ कार्तिक । जिल्ला प्रहरी कार्यालय धनुषाले गत असोज महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक सुरक्षालगायतका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरणअनुसार एक महिनाको अवधिमा चालु मुद्दाका १०१ जना प्रतिवादी पक्राउ परेका छन् भने अदालतको फैसला कार्यान्वयनका क्रममा १०३ जना पक्राउ परेका छन् ।

प्रहरीले फैसला कार्यान्वयन अभियानअन्तर्गत पक्राउ परेका व्यक्तिहरूबाट ९० वर्ष एक महिना पाँच दिन कैद सजाय र ५७ लाख ८२ हजार ६ सय ६६ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने फैसला कार्यान्वयन गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम, नागरिकको गुनासो सम्बोधन र प्रहरी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नियमित गस्ती, चेकजाँच तथा विभिन्न लक्षित अभियान सञ्चालन गरिएको छ ।

एक महिनामा १५९ अपराधका घटना दर्ता
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार असोज महिनामा धनुषामा विभिन्न प्रकृतिका १५९ वटा अपराधका घटना दर्ता भएका छन् । तीमध्ये ज्यानसम्बन्धी अपराधका १७, आत्महत्यासम्बन्धी सात, चोरीसम्बन्धी ३४, संगठित तथा आर्थिक अपराधसम्बन्धी १०, सामाजिक अपराधसम्बन्धी चार, सवारी दुर्घटनासम्बन्धी तथा अन्य शीर्षकका घटनासहित कुल १५९ घटना दर्ता भएको विवरणमा उल्लेख छ ।

त्यसैगरी जघन्य तथा गम्भीर अपराध, हातहतियार, मानव बेचबिखन, बैंकिङ कसुर, जुवातास तथा मुद्रासम्बन्धी अपराधलगायतका शीर्षकमा समेत मुद्दा दर्ता भएका छन् ।

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रहरीले नियमित गस्ती, पेट्रोलिङ, चेकजाँच तथा सीमावर्ती क्षेत्रमा समन्वयलाई निरन्तरता दिएको जनाएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमापार हुने अवैध कारोबार, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण प्रहरीका लागि महत्त्वपूर्ण चुनौतीका रूपमा रहँदै आएका छन् ।

प्रहरीले भारतीय समकक्षीसँग समन्वय गरी अपराध न्यूनीकरणका लागि योजना बनाएर कार्यान्वयन गरिएको पनि जनाएको छ ।

पेन्डिङ मुद्दामध्ये ८६ वटाको अनुसन्धान पूरा
जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक चासोका १ हजार २ सय ७२ वटा पेन्डिङ मुद्दा रहेको विवरणमा उल्लेख छ । तीमध्ये असोज महिनामा ८६ वटा मुद्दाको अनुसन्धान तथा फछ्र्योट गरिएको जनाइएको छ ।

यसै अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक हुण्डी मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ । आर्थिक अपराध तथा अवैध वित्तीय कारोबार नियन्त्रणका लागि प्रहरीले अनुसन्धान र निगरानीलाई प्राथमिकतामा राखेको देखिन्छ ।

लागूऔषधविरुद्धको कारबाहीमा १० मुद्दा, ११ जना पक्राउ
धनुषा प्रहरीले लागूऔषध नियन्त्रणका क्रममा असोज महिनामा १० वटा मुद्दा दर्ता गरी ११ जनालाई पक्राउ गरेको जनाएको छ । बरामद लागूऔषधमध्ये १०८ किलोग्राम गाँजा र २०४.७७ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) रहेको विवरणमा उल्लेख छ ।

त्यसैगरी चरेस, अफिम तथा अन्य औषधिजन्य लागूऔषधसमेत बरामद गरिएको जनाइएको छ । विवरणमा विभिन्न नामका औषधिजन्य पदार्थ, क्याप्सुल तथा एम्पुलसमेत उल्लेख छन् ।

लागूऔषधको प्रयोग तथा कारोबारले विशेषगरी युवा पुस्ता र समुदायको सुरक्षामा असर पार्न सक्ने भएकाले यसको नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ । प्रहरीको तथ्याङ्कअनुसार समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमअन्तर्गत लागूऔषधसम्बन्धी १३ वटा कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रममा ३७५ जना लाभान्वित भएका छन् भने २६ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

प्रहरीले लागूऔषधविरुद्धको कारबाहीसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, १५५ जना घाइते
असोज महिनामा धनुषामा ८६ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ । ती दुर्घटनामा १३१ वटा सवारीसाधन संलग्न भएका थिए । दुर्घटनामा तीन जनाको मृत्यु भएको र १५५ जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका १५५ जनाको उद्धार गरिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा ६९० वटा सवारीसाधन कारबाहीमा परेका छन् । त्यसबाट सात लाख २८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विवरणमा उल्लेख छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ट्राफिक चेकिङ, नियमित गस्ती तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । समुदाय केन्द्रित कार्यक्रमअन्तर्गत ट्राफिक सचेतनाका दुई कार्यक्रम सञ्चालन गरी ५५ जनालाई सहभागी गराइएको थियो ।

यद्यपि, एक महिनामै ८६ वटा दुर्घटना हुनु र १५५ जना घाइते हुनु सडक सुरक्षा अझै चुनौतीपूर्ण रहेको सङ्केत हो । चालकको लापरबाही, तीव्र गति, ट्राफिक नियमको उल्लङ्घन तथा सडकको अवस्थाजस्ता पक्षको नियमित निगरानी र प्रभावकारी नियन्त्रण आवश्यक देखिन्छ ।

घरेलु हिंसाका ८४ उजुरी, सबैमा मिलापत्र
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनामा असोज महिनामा ८४ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ । त्यस्तै घरेलु हिंसासम्बन्धी उजुरीतर्फ पनि ८४ वटा उजुरी परेको र ती सबैमा मिलापत्र भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

स्थानीय तहअनुसार घरेलु हिंसासम्बन्धी उजुरीमध्ये उपमहानगरपालिकातर्फ ४१, नगरपालिकातर्फ ३४ र गाउँपालिकातर्फ नौवटा उजुरी रहेको विवरणमा उल्लेख छ ।

यसैगरी प्रहरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको अभिलेख राख्दै पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

हराएका ६९ जनामध्ये ४१ जना फेला
असोज महिनामा महिला, पुरुष, बालक, बालिका तथा ज्येष्ठ नागरिक गरी कुल ६९ जना हराएको विवरणमा उल्लेख छ । सोही अवधिमा ४१ जना फेला परेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

प्रहरीले नागरिकबाट प्राप्त सूचना, उजुरी तथा अन्य माध्यमको प्रयोग गरी हराएका व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ ।

ठाडो उजुरी र नागरिकका गुनासो सम्बोधनमा सक्रियता
जिल्ला प्रहरी कार्यालय धनुषामा असोज महिनामा प्रत्यक्ष रूपमा ८३८ वटा उजुरी प्राप्त भएका थिए । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका ३० उजुरीसमेत गरी कुल ८६८ वटा उजुरी दर्ता भएका छन् ।

तीमध्ये प्रत्यक्ष प्राप्त उजुरीबाट ५६३ र जिल्ला प्रशासन कार्यालयमार्फत आएका उजुरीमध्ये १९ गरी कुल ५८२ वटा उजुरी फछ्र्योट भएका छन् । बाँकी २८६ वटा उजुरी फछ्र्योट हुन बाँकी रहेको विवरणमा उल्लेख छ ।

यसै अवधिमा प्रहरीले नागरिक सहायता कक्षमार्फत ८ हजार ८३ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको जनाएको छ । प्रहरी कार्यालयका हटलाइनमा २ हजार ९८५ र डीएसपीको सम्पर्क नम्बरमा ६ हजार ७२८ वटा कल आएको विवरणमा उल्लेख छ ।

अवैध कारोबार नियन्त्रणमा १३ लाखभन्दा बढीको सामान बरामद
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा प्रहरीले असोज महिनामा १३ लाख ४८ हजार ७५ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ । यस क्रममा एक जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ ।

त्यसैगरी अवैध मदिरा नियन्त्रणका क्रममा ४५० लिटर मदिरा बरामद गरिएको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणअन्तर्गत ११ वटा सवारीसाधन बरामद गरिएको र एक लाख १७ हजार रुपैयाँ जरिवाना गरिएको विवरणमा उल्लेख छ ।

अवैध वन पैदावारको चोरी तथा पैठारी नियन्त्रणका क्रममा मोटरसाइकल एक र ट्र्याक्टर एक गरी दुईवटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । यस क्रममा १६५.९७ क्विन्टल वन पैदावार बरामद गरिएको र २० हजार ७४६ रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त भएको विवरणमा उल्लेख छ ।

विपद्का २७ घटनामा तीन जनाको मृत्यु
असोज महिनामा धनुषामा आगलागी, करेन्ट लाग्ने, जनावरको आक्रमण, पानीमा डुब्ने तथा अन्य प्रकृतिका गरी २७ वटा विपद्सम्बन्धी घटना भएको विवरणमा उल्लेख छ । ती घटनामा तीन जनाको मृत्यु भएको र २० जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

प्रहरीले विपद्का घटनामा उद्धार तथा राहतसम्बन्धी कार्यमा समेत जनशक्ति परिचालन गरेको जनाएको छ । विपद्का कारण भएको क्षतिको प्रारम्भिक विवरणअनुसार नौ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।

प्रहरीले विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय र आवश्यक उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

समुदाय केन्द्रित ९३ कार्यक्रम, २ हजार ५३५ जना लाभान्वित
धनुषा प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । असोज महिनामा समुदाय केन्द्रित विभिन्न शीर्षकमा ९३ वटा कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रमबाट २ हजार ५३५ जना लाभान्वित भएको विवरणमा उल्लेख छ ।

कार्यक्रममा लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण, साइबर अपराध, ट्राफिक सचेतना, महिला हिंसा, बालविवाह तथा अन्य सामाजिक विषय समेटिएका थिए । साइबर अपराधसम्बन्धी आठ कार्यक्रमबाट १९५ जना र ट्राफिक सचेतनासम्बन्धी दुई कार्यक्रमबाट ५५ जना लाभान्वित भएको विवरणमा उल्लेख छ ।

यसैगरी नगराइन नगरपालिका–२ मा आयोजित सार्वजनिक सुनुवाइ तथा नागरिक सुनुवाइ कार्यक्रममा ११० जना सहभागी भएका थिए । कार्यक्रममा लागूऔषध सेवन र ट्राफिक व्यवस्थापनका विषय उठाइएको प्रहरीले जनाएको छ ।

अनुचित लेनदेनका चार निवेदनमा मिलापत्र
अनुचित लेनदेनसम्बन्धी समस्याको समाधानका लागि असोज महिनामा चारवटा निवेदनमा मिलापत्र तथा फछ्र्योट भएको विवरणमा उल्लेख छ । यस क्रममा कुल १३ लाख रुपैयाँ बराबरको रकम मिलापत्र भएको र १२ कठ्ठा घरजग्गा फिर्ता भएको जनाइएको छ ।

अनुचित लेनदेनका कारण आर्थिक तथा सामाजिक समस्यामा परेका व्यक्तिलाई न्याय दिलाउन सम्बन्धित निकायको सक्रियता महत्त्वपूर्ण हुन्छ । प्रहरीको तथ्याङ्कले यस क्षेत्रमा पनि विवाद समाधानका प्रयास जारी रहेको देखाउँछ ।

प्रहरीको मनोबल र सेवा सुधारमा जोड
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न उत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कार प्रदान गर्ने तथा आवश्यकताअनुसार आलोपालो बिदाको व्यवस्था मिलाउने काम गरेको जनाएको छ । पीडितसँग पुनः भेटघाट कार्यक्रमलाई पनि नवप्रवर्तनात्मक तथा रचनात्मक गतिविधिका रूपमा समावेश गरिएको छ ।

नागरिकता तथा अन्य कागजातसम्बन्धी मुचुल्का तयार गर्ने क्रममा ३५१ वटा नागरिकतासम्बन्धी र १२ वटा अन्य कागजातसम्बन्धी मुचुल्का गरिएको विवरणमा उल्लेख छ । हतियार नवीकरणसम्बन्धी ११० वटा मुचुल्कासमेत गरी कुल ३६३ वटा मुचुल्का तयार गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खनालका अनुसार अपराध न्यूनीकरणका लागि दैनिक गस्ती, नियमित चेकजाँच, सीमापारका सुरक्षा निकायसँग समन्वय तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।