शहीद कप महिला टी–२०: पर्साको शानदार जित, सिरहाले रौतहटलाई हरायो

जनकपुरधाम, ०६ जेठ । जनकपुरधाममा जारी शहीद कप महिला टी–२० क्रिकेट लिग प्रतियोगितामा पर्सा र सिरहा विजयी भएका छन् ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा बुधबार सम्पन्न खेलमा पर्साले महोत्तरीलाई एकतर्फी रूपमा पराजित गर्दा सिरहाले रौतहटमाथि प्रभावशाली जीत दर्ता गरेको हो ।
पहिलो खेलमा पर्सा जिल्ला महिला क्रिकेट टोलीले महोत्तरीलाई १० विकेटले हराउँदै शानदार प्रदर्शन गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको महोत्तरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।
महोत्तरीका लागि आरती महतोले अर्धशतक प्रहार गर्दै ५२ रन बनाइन् भने सीमा कनवारले १५ र विमला वलमपाकीले १४ रनको योगदान दिइन् ।
पर्साका बलर सीवानी साहले उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारिन् ।
१३४ रनको लक्ष्य पछ्याएको पर्साले आक्रामक ब्याटिङ गर्दै मात्र १० ओभरमै बिना विकेटको क्षतिमा १३५ रन जोड्दै खेल आफ्नो पक्षमा पार्यो ।
पर्साको जितमा सीवानी साहले विस्फोटक ब्याटिङ गर्दै १० चौकाको सहयोगमा ७३ रन बनाइन् भने साना प्रवीणले ४४ रनको महत्वपूर्ण योगदान दिइन् ।
त्यसैगरी, दोस्रो खेलमा सिरहा जिल्ला महिला क्रिकेट टोलीले रौतहटलाई ४१ रनले पराजित गर्यो ।
सिरहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
टोलीका लागि श्वेता लामाले सर्वाधिक ३१ रन बनाइन् भने अनुराधा चौधरीले २४, मिना महतोले २० र आरती चौधरीले १२ रन थपिन् ।
रौतहटका बलर प्रतीक्षा सिंहले २ तथा मनिका साहले १ विकेट लिइन् ।
१२८ रनको लक्ष्य पछ्याएको रौतहटको टोली सिरहाको कसिलो बलिङसामु टिक्न सकेन । रौतहट ८६ रनमै समेटिएपछि सिरहाले सहज जित निकाल्न सफल भयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


