धुलो नियन्त्रणको माग गर्दै राजविराजमा हुलाकी सडक अवरुद्ध

सप्तरी, ०६ जेठ । वर्षौंदेखि हुलाकी सडक क्षेत्रमा उड्दै आएको अत्यधिक धुलोका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै सप्तरीको राजविराजमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
बुधबार बिहानदेखि राजविराज–१ स्थित हनुमान मन्दिरदेखि चनौरा–पडरिया खण्डसम्मको हुलाकी सडक अवरुद्ध गरिएको हो ।
निर्माणाधीन सडकमा धुलो नियन्त्रणका लागि नियमित पानी छर्किने व्यवस्था गर्न, सडक स्तरोन्नति गर्न तथा निर्माण कार्य प्रभावकारी बनाउन माग गर्दै स्थानीयले सडकमा चक्काजाम गरेका हुन् ।
आन्दोलनका कारण उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको थियो ।
स्थानीय निरञ्जन झाका अनुसार लामो समयदेखि सडकमा उड्ने धुलोका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्या, एलर्जी तथा अन्य स्वास्थ्य जटिलता बढ्दै गएको छ ।
पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै ठोस पहल नभएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको उनले बताए ।
आन्दोलनकारीहरूले स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका छन् ।
राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख ईसरत परवीन, प्रदेश सांसद महेश यादव तथा सङ्घीय सांसद रामजी यादवलगायतले स्थानीय समस्याप्रति गम्भीर चासो नदिएको आरोप उनीहरूको छ ।
‘जनताको आधारभूत समस्यासमेत आन्दोलन नगरी समाधान नहुने अवस्था आएको छ,’ आन्दोलनमा सहभागी स्थानीयले बताए ।
उनीहरूले नयाँ सरकारप्रति पनि असन्तुष्टी व्यक्त गर्दै जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा पर्याप्त ध्यान नदिएको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


