जनकपुरधाम, ०६ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी जेठ ८ गते लिन लागेको विश्वासको मतमा नेकपा एमालेले पनि समर्थन गर्ने भएको छ ।

केन्द्रस्तरमा नेपाली कांग्रेस र एमालेबीच भएको राजनीतिक संवादपछि एमालेले यादव नेतृत्वको सरकारलाई साथ दिने समझदारी बनेको स्रोतले जनाएको छ ।

यसअघि गत शुक्रबार विश्वासको मत लिने कार्यसूची तय भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका केही सांसदले फ्लोर क्रस गर्न सक्ने आशंकापछि मुख्यमन्त्री यादवले विश्वासमतको प्रक्रिया रोकेका थिए ।

मधेश सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेस, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपाबीच यसअघि नै सहमति बनेको थियो ।

तर,जसपा नेपाल र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएपछि एकीकृत दलभित्र समर्थनबारे अन्योल देखिएको थियो । त्यसपछि मुख्यमन्त्री यादवको विश्वासमत अनिश्चित बनेको थियो ।

राजनीतिक समीकरण जटिल बनेपछि कांग्रेस नेतृत्वले केन्द्रमा एमालेसँग संवाद अघि बढाएको थियो ।

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले फरक फरक समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सातै प्रदेश सरकारको अवस्थाबारे छलफल गरेका थिए ।

उक्त छलफलपछि बनेको प्रारम्भिक समझदारीअनुसार मधेश प्रदेशमा एमालेले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने सहमति भएको बताइएको छ ।

कांग्रेसका एक प्रदेश नेताका अनुसार एमालेको समर्थनपछि मुख्यमन्त्री यादवले सहज रूपमा विश्वासको मत प्राप्त गर्ने अवस्था बनेको छ ।

मधेश प्रदेश सभामा सत्ता समीकरण फेरिने सम्भावनाबीच केन्द्रस्तरको सहमतिले प्रदेश सरकारलाई तत्कालका लागि स्थायित्व मिल्ने देखिएको छ ।