मधेशमा वनक्षेत्र जोगाउने प्रयास, ४४२ हेक्टर अतिक्रमणमुक्त

जनकपुरधाम, ०६ जेठ । मधेश प्रदेशमा वर्षौँदेखि अतिक्रमणको चपेटामा परेको ४४२ हेक्टर वनक्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा खाली गराइएको छ ।
वन निर्देशनालय मधेश प्रदेशका अनुसार विभिन्न जिल्लामा फैलिएको वन अतिक्रमण हटाउने अभियानअन्तर्गत उक्त क्षेत्र फिर्ता लिइएको हो ।
निर्देशनालयले दिएको जानकारीअनुसार सबैभन्दा बढी सर्लाहीमा १७५ हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त गरिएको छ ।
त्यसपछि सप्तरीमा १११ हेक्टर, बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, धनुषामा ३० हेक्टर, रौतहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वनक्षेत्र खाली गराइएको छ ।
वन क्षेत्रमा लामो समयदेखि खेतीपाती, गोठ निर्माण, होटल तथा पसल सञ्चालनदेखि घर बनाएर बसोबाससमेत हुँदै आएको थियो ।
वन निर्देशनालयका निर्देशक जगन्नाथप्रसाद जयसवालले अझै पनि मधेश प्रदेशका आठ जिल्लामा १६ हजार ५९९ हेक्टर वनक्षेत्र अतिक्रमणको अवस्थामा रहेको जानकारी दिए ।
उनका अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गराउन सम्बन्धित डिभिजन वन कार्यालयहरूले सूचना जारी गरिसकेका छन् ।
अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइए पनि त्यसका लागि प्रशासनिक संयन्त्र मात्र पर्याप्त नहुने भन्दै राजनीतिक दल, स्थानीय तह र समुदायको सहकार्य आवश्यक रहेको निर्देशक जयसवालले बताए ।
मधेश प्रदेशमा वन क्षेत्र अत्यन्त न्यून रहेको तथ्यांकले देखाएको छ । देशभर करिब ४५ प्रतिशत भूभाग वनले ढाकिएको भए पनि मधेश प्रदेशमा भने जम्मा ३ दशमलव ७२ प्रतिशत भूभाग मात्रै वन क्षेत्र रहेको निर्देशनालयको तथ्यांक छ ।
प्रदेशभर कुल दुई लाख दुई हजार २०२ हेक्टर वनक्षेत्र रहेकोमध्ये आठ प्रतिशत क्षेत्र अतिक्रमणमा परेको छ ।
अझै चिन्ताजनक पक्ष के छ भने मधेशका १३६ स्थानीय तहमध्ये ८९ स्थानीय तहमा वनक्षेत्र नै नरहेको बताइएको छ ।
वन विनाश र अतिक्रमणका कारण वातावरणीय सन्तुलन, जैविक विविधता तथा भू–क्षयको जोखिम बढ्दै गएको भन्दै सरोकारवालाले दीर्घकालीन संरक्षण रणनीति आवश्यक रहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


