गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान

जनकपुरधाम, ०६ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टीभित्रको आन्तरिक विभाजन अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
मधेश प्रदेशमा बुधबार आयोजित एक कार्यक्रममा उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत सभापति गगन थापाको नेतृत्व स्वीकार गर्दै पार्टी सुदृढीकरण अभियानमा जुट्न आह्वान गरेका हुन् ।
यादवले पार्टीभित्र विभिन्न समूह र भेलाको राजनीति गर्दै अघि बढ्ने प्रवृत्तिले संगठन कमजोर हुने उल्लेख गर्दै अब सबै नेता कार्यकर्ता साझा लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘अब पार्टीभित्र यो भेला र त्यो भेला भन्दै अलग अलग धारमा लागेर हुँदैन । हामी सबैले गगन थापालाई सभापतिको रूपमा स्वीकार गरेर एक ढिक्का हुनुपर्छ ।’
उनले नेपाली कांग्रेसलाई बलियो बनाउन क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
मधेश प्रदेशका नेता तथा कार्यकर्तालाई एकजुट भएर संगठन विस्तार र सुदृढीकरणमा लाग्न उनले विशेष आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


