मधेश प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको आठौं वार्षिक प्रतिवेदन पेश

जनकपुरधाम, ०६ जेठ । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष महालेखापरीक्षक कार्यालयको आठौं वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
महालेखापरीक्षक कार्यालयका नायब महालेखा परीक्षक तारा प्रसाद पाण्डेले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका लेखापरीक्षण तथा आर्थिक अनुगमनसम्बन्धी विवरण समेटिएको प्रतिवेदन बुधबार प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम तयार गरिएको उक्त प्रतिवेदनमा सरकारी निकायहरूको आर्थिक अनुशासन, बजेट खर्चको अवस्था, राजस्व संकलन, सार्वजनिक वित्तीय व्यवस्थापन तथा लेखापरीक्षणसम्बन्धी विविध पक्ष समावेश गरिएको जनाइएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन औपचारिक रूपमा बुझाइएको थियो । कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका अधिकारीहरूकोसमेत उपस्थिति रहेको थियो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजिप कुमार दुब्बेका अनुसार प्रतिवेदनले सार्वजनिक निकायहरूमा आर्थिक पारदर्शिता, सुशासन र जवाफदेहितालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


