लगातार तेस्रो वर्ष न्यूनतम बेरुजु कायम गर्दै महोत्तरी गाउँपालिका जिल्लाकै उत्कृष्ट

जनकपुरधाम, ०६ जेठ । महोत्तरीको महोत्तरी गाउँपालिकाले लगातार तेस्रो वर्ष पनि वित्तीय सुशासन र पारदर्शितामा जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन–२०८३ अनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा गाउँपालिकाले सबैभन्दा कम १ दशमलव ०९ प्रतिशत मात्रै बेरुजु कायम गरेको हो ।
प्रतिवेदनअनुसार गाउँपालिकाको कुल लेखापरीक्षण रकम ९९ लाख ४७ हजार ४१७ रुपैयाँ रहेकोमा बेरुजु रकम १ लाख ८ हजार ३१ रुपैयाँ मात्रै देखिएको छ ।
न्यूनतम बेरुजु कायम गरेसँगै महोत्तरी गाउँपालिका जिल्लाभरिका स्थानीय तहमध्ये उत्कृष्ट बन्नुका साथै मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएको जनाएको छ ।
गाउँपालिकाले यो उपलब्धिलाई अध्यक्ष दिलिप कुमार पाण्डेयको नेतृत्व, जनप्रतिनिधिहरूको सक्रियता, कर्मचारीहरूको मेहनत तथा स्थानीयवासीको सहयोगको प्रतिफलका रूपमा व्याख्या गरेको छ ।
गाउँपालिकाका अनुसार वित्तीय अनुशासन, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिएकै कारण न्यूनतम बेरुजु कायम गर्न सम्भव भएको हो ।
आगामी दिनमा पनि सुशासन र विकासलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


