निजी क्षेत्रमैत्री बजेटको माग गर्दै मधेश प्रदेश सरकारलाई महासंघको २० बुँदे सुझाव

जनकपुरधाम, ०५ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा निजी क्षेत्र, कृषि, उद्योग, पर्यटन तथा ऊर्जा क्षेत्रलाई प्राथमिकता दिन आग्रह गर्दै मधेश प्रदेश सरकारसमक्ष २० बुँदे सुझाव पेश गरेको छ ।
महासंघका अध्यक्ष विजय कुमार साह नेतृत्वको टोलीले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राज कुमार सिंहलाई सुझावपत्र बुझाउँदै प्रदेशको आर्थिक विकास र रोजगारी अभिवृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गरेको हो ।
महासंघले मधेश प्रदेशका आठवटै जिल्लामा थोक कृषि बजार केन्द्र स्थापना गर्न बजेट विनियोजन गर्नुपर्ने, कृषिमा विपद् सम्बन्धी सूचना प्रणाली विकास गर्नुपर्ने तथा कृषि व्यवसायीकरणको नीति निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउनुपर्ने सुझाव दिएको छ ।
त्यसैगरी, भिठामोड भन्सारमा इमिग्रेशन सेन्टर स्थापना गर्न संघीय सरकारसँग पहल गर्नुपर्ने, घरेलु उत्पादन वृद्धि गर्न विशेष बजेट छुट्याउनुपर्ने तथा पर्यटन क्षेत्रलाई डिजिटाइजेशनमार्फत प्रवर्द्धन गर्न माग गरिएको छ ।
महासंघले प्रदेश सरकारको राजस्व वृद्धि गर्न हुलाकी सडक प्रदेश सरकारको मातहत ल्याउनुपर्ने, निजी क्षेत्रको विकासलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने तथा उद्योगी व्यवसायीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
सुझावपत्रमा मधेश प्रदेशमा रिसर्च बेस्ड डाटा सेन्टर स्थापना, निजी क्षेत्रका संस्थालाई सरकारी प्रोटोकलमा समावेश, भारतीय पर्यटकलाई आकर्षित गर्ने वातावरण निर्माण तथा कृषि क्षेत्रमा अनुसन्धान तथा विकासलाई सशक्त बनाउनुपर्ने विषय पनि समेटिएको छ ।

यस्तै, उद्यम दर्ता प्रक्रियालाई सहजीकरण गर्नुपर्ने, उत्पादनको गुणस्तर सुनिश्चित गर्न संयन्त्र निर्माण गर्नुपर्ने तथा बढी कनेक्टिभिटी भएका स्थानमा प्रदर्शनी केन्द्र स्थापना गर्नुपर्ने सुझाव महासंघले दिएको छ ।
महासंघले मधेश प्रदेशका विश्वविद्यालयमा हस्पिटालिटी क्षेत्रसम्बन्धी शिक्षा सञ्चालन गर्नुपर्ने, आठवटै जिल्लामा औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने तथा सौर्य ऊर्जाको उच्च सम्भावनालाई ध्यानमा राख्दै ‘सोलार इनर्जी सेन्टर’ स्थापना गर्न बजेट विनियोजन गर्न आग्रह गरेको छ ।
सुझावपत्र बुझाउने कार्यक्रममा महासंघका सल्लाहकार निर्मल चौधरी, मनिष रमन साह, कार्यसमिति सदस्य नवीन साह तथा एनवाइईएफका अध्यक्ष राजीव लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


