जनकपुरधाममा ‘परिवर्तनको आवाज’ परियोजना सुरु, सिर्जनशील क्षेत्रमा समावेशितामा जोड

जनकपुरधाम, ०५ जेठ । मधेश प्रदेशमा कला, साहित्य तथा सांस्कृतिक क्षेत्रमा समावेशी सहभागिता बढाउने उद्देश्यसहित ‘परिवर्तनको आवाजः सिर्जनशीलता, पहिचान र अभियानमार्फत भविष्य निर्माण’ परियोजना औपचारिक रूपमा सुरु गरिएको छ ।
एफसीए नेपाल, दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स र शान्ता फाउण्डेशनको साझेदारीमा सञ्चालित उक्त परियोजनाको मधेश प्रदेशस्तरीय शुभारम्भ कार्यक्रम मंगलबार जनकपुरधाममा सम्पन्न भएको हो ।
युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाले महिला, दलित, आदिवासी जनजाति तथा यौनिक एवं लैङ्गिक अल्पसंख्यक समुदायका युवालाई सिर्जनात्मक क्षेत्रमा अवसर, स्रोत र सुरक्षित कार्य वातावरण उपलब्ध गराउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार परियोजना काठमाडौं उपत्यकासहित मधेश र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन हुनेछ । कला, साहित्य, शिल्प तथा सांस्कृतिक क्षेत्रमा सक्रिय युवाहरूलाई आत्मनिर्भर बनाउँदै सिर्जनशील उद्योगको प्रवर्द्धन गर्ने उद्देश्य परियोजनाले लिएको छ ।
शुभारम्भ कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तह, कलाकार, युवा समूह, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नेपालको सिर्जनात्मक क्षेत्रलाई रोजगारी, सामाजिक रूपान्तरण र पहिचान सुदृढीकरणको माध्यमका रूपमा विकास गर्न राज्य र निजी क्षेत्रको लगानी तथा सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सभामुख रामअशिष यादवले ‘परिवर्तनको आवाज’ परियोजनाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा सकारात्मक योगदान पुर्याउने बताए । उनले समावेशी अधिकार र संविधान संशोधनसम्बन्धी बहससँग पनि परियोजनाको उद्देश्य जोडिएको उल्लेख गरे ।
त्यसैगरी, रीता मिश्रले स्थानीय तहको तर्फबाट परियोजनालाई स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाइन् ।
मधेश प्रज्ञा प्रतिस्ठानका अध्यक्ष रामभरोस कापडीले परियोजनाले मधेश प्रदेशमा समावेशिता, पहुँच र सांस्कृतिक अधिकारका सवाललाई थप सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरे ।
उनले यसले प्रदेशको सिर्जनात्मक क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा राखे ।











तस्बिरहरू: घनश्याम मिश्र
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


