चुरे दोहनविरुद्ध जनकपुरधाममा जनजागरण अभियान, हस्ताक्षर संकलन तीव्र

जनकपुरधाम, ०५ जेठ । चुरे क्षेत्रको संरक्षण र वन विनाश रोक्न माग गर्दै सञ्चालन गरिएको मेची–महाकाली जनजागरण अभियान मंगलबार जनकपुरधाम पुगेको छ ।
अभियान टोलीले चुरे दोहन, अवैध उत्खनन तथा नदी नालामाथिको अतिक्रमणविरुद्ध जनमत निर्माण गर्न हस्ताक्षर संकलनलाई तीव्रता दिएको हो ।
अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले पछिल्ला वर्षहरूमा चुरे क्षेत्रमा अवैध रूपमा गिट्टी, बालुवा र ढुंगाको उत्खनन बढ्दै गएको बताए ।
उनका अनुसार वन फँडानी, जडीबुटी तस्करी तथा नदी प्रदूषणका कारण वातावरणीय सन्तुलन बिग्रँदै गएको छ ।
उनले चुरे क्षेत्रको अनियन्त्रित दोहनले नदी तथा खोलाहरू सुक्दै र नाङ्गिँदै गएको उल्लेख गर्दै समयमै संरक्षणका प्रभावकारी कदम नचालिए तराई–मधेश क्षेत्रमा गम्भीर वातावरणीय संकट निम्तिन सक्ने चेतावनी दिए ।
खुला चरिचरण, वन अतिक्रमण र नदी किनारमा भइरहेको अव्यवस्थित गतिविधिले प्राकृतिक स्रोतमा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।
अभियान टोलीले सरकारसँग चुरे दोहन तत्काल रोक्न, अवैध उत्खननमा संलग्नमाथि कडा कारबाही गर्न, वन अतिक्रमण नियन्त्रण गर्न तथा नदी नालालाई प्रदूषणमुक्त बनाउन माग गरेको छ । साथै चुरे क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण गरी दीर्घकालीन संरक्षण नीति लागू गर्नुपर्ने माग पनि अघि सारिएको छ ।
अभियानअन्तर्गत देशभर संकलन गरिएका हस्ताक्षर संघीय सरकारलाई बुझाइने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


