रौतहट, ०५ जेठ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले वालेन्द्र शाह नेतृत्वको सरकारलाई मौलापुर नगरपालिकामा भइरहेको भनिएको गैरकानुनी हस्तक्षेप तत्काल रोक्न आग्रह गर्दै अन्यथा नगरपालिकामा तालाबन्दी गर्न बाध्य हुने चेतावनी दिएकी छन् ।

मेयर साहले मंगलबार प्रेस वक्तव्य जारी गर्दै संविधान र कानुनअनुसार स्थानीय तह सञ्चालन गर्न संघीय सरकारले सहजीकरण गर्नुको सट्टा कर्मचारीतन्त्रमार्फत अनावश्यक दबाब र अवरोध सिर्जना गरिएको आरोप लगाएकी हुन् ।

उनले नगरपालिकाले सञ्चालन गर्दै आएको ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम तथा ‘छोरीसँग मेयर कार्यक्रम’ अन्तर्गत छोरीहरूको विवाहमा प्रदान गरिने आर्थिक सहयोग कार्यक्रमप्रति नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन् ।

नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटअनुसार आवश्यक रकम विनियोजन गरिसकिएको भए पनि प्रशासनिक अवरोधका कारण भुक्तानी प्रक्रिया प्रभावित भएको उनको भनाइ छ ।

मेयर साहका अनुसार चालु आर्थिक वर्षको शुरूवातमै तत्कालीन सरकारद्वारा खटाइएका प्रमुख प्रशासकीय अधिकृत लामो समय कार्यालयमा अनुपस्थित रहे ।

त्यसपछि सरकार परिवर्तन, अस्पष्ट निर्देशन तथा आचारसंहिताका कारण विकास कार्यक्रम र सेवा प्रवाह प्रभावित भएको उनको दाबी छ ।

उनले वर्तमान सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतसमेत नियमित रूपमा कार्यालयमा उपस्थित नभएको तथा बैंक खाता सञ्चालन प्रक्रियासमेत अगाडि नबढाएको आरोप लगाएकी छन् ।

पटक पटक निर्देशन दिँदा पनि विभिन्न बहानामा भुक्तानी रोक्ने र योजना कार्यान्वयनमा ढिलाइ गर्ने कार्य भइरहेको भन्दै उनले यसलाई स्थानीय सरकारलाई असफल बनाउने प्रयासको संज्ञा दिएकी छन् ।

मेयर साहले निर्वाचित जनप्रतिनिधिको निर्णय कार्यान्वयनमा कर्मचारीले ‘माथिको आदेश’ भन्दै अवरोध सिर्जना गर्नु स्थानीय स्वायत्ततामाथिको हस्तक्षेप भएको उल्लेख गरिन् ।

सशर्त बजेट कार्यान्वयनदेखि विकास योजनासम्ममा अनावश्यक रोक लगाइएको उनको आरोप छ ।

मौलापुर नगरपालिकामा पछिल्ला घटनाक्रमले गम्भीर अवस्था सिर्जना गरेको उल्लेख गर्दै उनले संघीय सरकारलाई हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरेकी छन् । अन्यथा नगरपालिका बन्द गरी तालाबन्दी गर्न बाध्य हुने चेतावनीसमेत उनले दिएकी छन् ।