जनकपुरधाम, ०५ जेठ । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा मन्त्री हेरफेरको तयारी गरेको छ ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध निर्वाचनमा असहयोग गरेको आरोप खेपिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायलाई पदबाट हटाउने विषयमा कांग्रेसभित्र आन्तरिक छलफल तीव्र बनेको स्रोतले जनाएको छ ।

कांग्रेस निकट स्रोतका अनुसार मन्त्री रायको स्थानमा सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ ।

यद्यपि, यसबारे पार्टी नेतृत्व वा प्रदेश सरकारका तर्फबाट औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन ।

पार्टीभित्र अनुशासनको विषयलाई लिएर पछिल्लो समय चर्किएको विवादकै प्रभावस्वरूप मन्त्रीस्तरीय हेरफेरको गृहकार्य सुरु भएको बताइएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले गत बैशाख १६ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा विभिन्न प्रदेशका मन्त्री, सांसद तथा नेतासहित सात जनासँग स्पष्टीकरण मागेको थियो । समितिले पाँच दिनभित्र लिखित जवाफ बुझाउन निर्देशन दिएको थियो ।

स्पष्टीकरण सोधिएका व्यक्तिहरूमध्ये मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री राय पनि रहेका थिए ।

त्यस्तै, देवकरण प्रसाद कलवार, प्रदीप सुनुवार तथा प्रचण्ड विक्रम न्यौपानेसँग पनि स्पष्टीकरण मागिएको थियो ।

साथै, प्रदेशसभा सदस्य राजु खनाल, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई समेत समितिले लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो ।

कांग्रेस स्रोतका अनुसार केही नेताले बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएको तथा कतिपयले अझैसम्म जवाफ नबुझाएको भन्दै अनुशासन समितिले कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । यही सन्दर्भमा मन्त्री रायलाई सरकारबाट बाहिरिने दबाब बढेको बताइएको छ ।

मधेश प्रदेशमा कृष्णप्रसाद यादव नेतृत्वको सरकार गठन भएयता कांग्रेसभित्र सरकारको कार्यशैली, मन्त्रालय सञ्चालन र राजनीतिक समन्वयलाई लिएर असन्तुष्टि रहँदै आएको छ ।

सरकारमा सहभागी कांग्रेसका केही नेताहरूले निर्णय प्रक्रियामा पार्टीको प्रभाव कमजोर भएको, मन्त्रालय सञ्चालन प्रभावकारी नभएको तथा संगठनसँग समन्वय अभाव देखिएको गुनासो गर्दै आएका छन् ।

यद्यपि, तत्काल मुख्यमन्त्री परिवर्तन गर्ने पक्षमा पार्टी नेतृत्व नरहेको स्रोतको भनाइ छ । अहिलेका लागि सीमित मन्त्री हेरफेरमार्फत सरकारभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने रणनीति कांग्रेस नेतृत्वले अपनाएको बताइन्छ ।

मन्त्री रायलाई २०८२ पुसमा मुख्यमन्त्री यादवको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरिएको थियो ।

नियुक्तिपछि उनले प्रदेशका स्वास्थ्य संस्थाको सुधार, सेवा विस्तार तथा कर्मचारी व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताएका थिए । तर, पछिल्लो समय पार्टीभित्रै उनीमाथि संगठनविरुद्ध गतिविधिमा संलग्न भएको आरोप लाग्दै आएको थियो ।

उता, संभावित नयाँ मन्त्रीका रूपमा चर्चामा रहेका सिंह कांग्रेसभित्र संगठनात्मक रूपमा सक्रिय नेताका रूपमा चिनिन्छन् । यसअघि पनि प्रदेश सरकारमा जिम्मेवारी सम्हालिसकेका सिंहलाई पार्टी नेतृत्वले सन्तुलित र समन्वयकारी भूमिकामा अघि सार्न खोजेको कांग्रेस स्रोतको दाबी छ ।