लहानमा भूमिहीन र सुकुमवासीको प्रदर्शन

सिरहा, ०४ जेठ । सिरहाको लहानमा भूमिहीन दलित, मुसहर तथा सुकुमवासी समुदायले सार्वजनिक जग्गामा भइरहेको डोजर अभियानविरुद्ध प्रदर्शन गरेका छन् ।
वर्षौंदेखि बसोबास गर्दै आएका बस्ती हटाउन खोजिएको भन्दै उनीहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका हुन् ।
भूमि अधिकार मञ्च र मुसहर युवा सञ्जालको संयुक्त आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउने कार्य तत्काल रोक्न माग गरेका थिए ।
प्रदर्शनकारीहरूले अव्यवस्थित बसोबासी तथा भूमिहीन समुदायमाथि अन्याय भइरहेको आरोप लगाएका छन् ।
प्रदर्शनमा सहभागी स्थानीयले आफूहरू लामो समयदेखि सो क्षेत्रमा बसोबास गर्दै आएको उल्लेख गर्दै राज्यले आवास, लालपुर्जा तथा सुरक्षित बसोबासको सुनिश्चितता गर्नुपर्ने माग राखे ।
उनीहरूले गरिब तथा विपन्न समुदायलाई विस्थापित गर्ने गरी डोजर चलाउनु अमानवीय भएको बताए ।
प्रदर्शनकारीहरूले सरकारले भूमिहीन तथा सुकुमवासीको समस्या समाधानका लागि स्पष्ट नीति ल्याउनुपर्ने र पुनःस्थापनाको व्यवस्था नगरी हटाउने कार्य स्वीकार्य नहुने चेतावनी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


