औषधि पसलबाट झण्डै ६ हजार पिस लागुऔषध बरामद, एक पक्राउ

जनकपुरधाम, ०४ जेठ । धनुषाको ढल्केबरस्थित एक औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध ब्युरो शाखा कार्यालय बर्दिवास महोत्तरीबाट खटिएको संयुक्त टोलीले धनुषाधाम नगरपालिका–८ स्थित भिमान चोकमा सञ्चालनमा रहेको ‘समीक्षा हेल्थ केयर’मा छापा मारेर लागुऔषधसहित सन्तोषकुमार विश्वकर्मालाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार औषधि पसल तथा घरको कोठामा गरिएको खानतलासीका क्रममा विभिन्न प्रकारका प्रतिबन्धित औषधिजन्य लागुऔषध फेला परेको थियो ।
बरामद गरिएका औषधिमा ट्यापेन्टाडोल ५० एमजीका एक हजार ७०० पिस, स्पासरेस्ट १०० एमजीका एक हजार ५९० पिस, ट्यापेन्टाडोल १०० एमजीका एक हजार २०० पिस, ट्रामाडोल ५० एमजीका १०० पिस, एनाट्रामका २९ पिस, एन्टिकोफका ५०० पिस, स्पासपेनका ५०० पिस तथा स्पाज्मो २० एमजीका ३०० पिस रहेका छन् ।
प्रहरीका अनुसार कुल पाँच हजार ९१९ पिस लागुऔषध बरामद गरिएको हो ।
ती औषधि घरको भुइँतलाको पछाडिपट्टि रहेको कोठामा कार्टुन र प्लास्टिकको पोकाभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विश्वकर्मा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ निवासी रहेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


