नेपाल–भारत सीमा स्तम्भ मर्मतको अनुगमन

महोत्तरी, ०४ जेठ । नेपाल–भारत सीमामा संयुक्त रूपमा सञ्चालन भइरहेको सीमा स्तम्भ (पिलर) मर्मत तथा संरक्षण कार्यको महोत्तरीमा अनुगमन गरिएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित नेपाली तथा भारतीय सुरक्षा निकायका प्रतिनिधिहरूले सीमा क्षेत्रमा पुगेर मर्मत कार्यको स्थलगत निरीक्षण गरेका हुन् ।
अनुगमनका क्रममा सीमा क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त तथा हराउन थालेका पिलरहरूको पहिचान गरी पुनः मर्मत तथा व्यवस्थित गर्ने कार्य भइरहेको जानकारी दिइएको छ ।
दुवै देशका प्राविधिक टोलीको समन्वयमा सीमा स्तम्भहरूको मापन, रङरोगन तथा आवश्यक संरचनात्मक सुधारको काम अघि बढाइएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवले सीमा स्तम्भको संरक्षणले सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने सम्भावित विवाद तथा अतिक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने बताए ।
उनले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन संयुक्त रूपमा भइरहेको यस्तो कार्य महत्वपूर्ण रहेको धारणा राखे ।
उनले सीमा क्षेत्रको शान्ति, सुरक्षा तथा प्रशासनिक समन्वयलाई मजबुत बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित प्राविधिक टोली निरन्तर सक्रिय रहेको पनि बताए ।
अनुगमनमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नापी कार्यालयका प्रतिनिधि तथा भारतीय पक्षका सुरक्षा अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


