मधेशमा प्रदेशस्तरीय १९ प्रतियोगिता सञ्चालन

जनकपुरधाम, ०४ जेठ । मधेश प्रदेशभर एकैसाथ १९ वटा प्रदेशस्तरीय खेल प्रतियोगिता सुरु भएका छन् ।
मधेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा दुई हजार ४७२ जना खेलाडी सहभागी भएका छन् ।
प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेका प्रतियोगिताको उद्देश्य राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुका साथै खेलाडीको क्षमता अभिवृद्धि गर्नु रहेको परिषद्का अध्यक्ष शिवजी साह कल्वारले बताए ।
उनका अनुसार महिला खेलाडीलाई विशेष प्राथमिकता दिँदै प्रतियोगिता सञ्चालन गरिएको हो ।
परिषद्का अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विभिन्न जिल्लामा फरक–फरक विधाका खेल भइरहेका छन् ।
जनकपुरधाममा महिला भलिबल, राष्ट्रिय खुला हाफ म्याराथन, कराँते तथा फुल कन्ट्याक्ट महिला/पुरुष प्रतियोगिता आयोजना गरिएको छ ।
त्यसैगरी महोत्तरीको जलेश्वरमा टेबल टेनिस महिला/पुरुष तथा कान्तिबजारमा पुरुष ह्यान्डबल प्रतियोगिता भइरहेको छ ।
रौतहटको चन्द्रपुरमा फुटबल, बाराको निजगढमा तेक्वान्दो महिला/पुरुष, कलैयामा पुरुष खो–खो र बास्केटबल प्रतियोगिता सञ्चालनमा छन् ।
वीरगञ्जमा शारीरिक सुगठन तथा जुडो महिला/पुरुष प्रतियोगिता आयोजना गरिएको छ ।
यस्तै, सर्लाहीको मलंगवामा पुरुष ब्याडमिन्टन र लालबन्दीमा एटीएफ महिला/पुरुष प्रतियोगिता भइरहेको छ ।
सप्तरीको राजविराजमा भारोत्तोलन तथा उसु र डोरीतान प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
सिरहाको गोलबजारमा पुरुष बुद्धिचाल तथा रग्वी प्रतियोगिता आयोजना गरिएको छ भने धनुषाको महेन्द्रनगरमा महिला/पुरुष हक्की प्रतियोगिता हुन लागेको परिषद्ले जनाएको छ ।
प्रदेशस्तरीय खेल गतिविधिले मधेसमा खेलकुदको माहोल थप उत्साहजनक बनेको स्थानीय खेलप्रेमीहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


