–श्याम कुमार ठाकुर
सिरहा, ०४ जेठ ।
उपभोक्तालाई सही तौल तथा मापन सेवा सुनिश्चित गर्ने उद्देश्यले मिर्चैयामा दुईदिने ढक–तराजु चेकजाँच क्याम्प सञ्चालन गरिएको छ ।

मिर्चैया उद्योग वाणिज्य संघको आयोजनामा मिर्चैया नगरपालिका–५ स्थित संघको कार्यालयमा क्याम्प सञ्चालन गरिएको हो ।

क्याम्पमा विराटनगरबाट आएको पाँच सदस्यीय प्राविधिक टोलीले स्थानीय व्यवसायीहरूले प्रयोग गर्दै आएका ढक, तराजु तथा नापतौलसम्बन्धी उपकरणहरूको परीक्षण, प्राविधिक जाँच तथा नवीकरण गरिरहेको आयोजकले जनाएको छ । टोलीको नेतृत्व निरीक्षक मनीषा राईले गरेका छन् ।

निरीक्षक राईले बजारमा सही नापतौल प्रणाली कायम गर्नु उपभोक्ता अधिकार संरक्षणको महत्वपूर्ण आधार भएको बताउँदै नियमित परीक्षण तथा अनुगमनले व्यवसायप्रति उपभोक्ताको विश्वास अझ मजबुत हुने बताए ।

कार्यक्रमबारे जानकारी दिँदै भरत महासेठले व्यवसायलाई पारदर्शी, विश्वसनीय र व्यवस्थित बनाउन यस्ता प्राविधिक क्याम्प आवश्यक रहेको उल्लेख गरे । उनले व्यवसायीहरूलाई कानुनी मापदण्डअनुसारका नापतौल उपकरण प्रयोग गर्न आग्रहसमेत गरे ।

संघका अनुसार जेठ ४ र ५ गतेसम्म सञ्चालन हुने क्याम्पमा स्थानीय व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

आयोजकका अनुसार बजारमा उपभोक्ता हित संरक्षण तथा सही नापतौल प्रणालीको प्रवर्द्धनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।