खेलकुद, शिक्षा, धर्म, राजनीति र व्यवसाय जनकपुरधामको विकासका आधार: नेता झा

जनकपुरधाम, ०३ जेठ । राजनीतिक अभियन्ता तथा जिल्ला समन्वय समिति धनुषाका पूर्वउपसभापति दीपक झाले जनकपुरधामको विकास नहुनु दु:खद रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
झाले पौराणिक, ऐतिहासिक तथा सामाजिक पहिचानलाई संरक्षण गर्दै दिगो विकासतर्फ अघि बढ्न पाँच प्रमुख क्षेत्रलाई केन्द्रमा राखेर नीति तथा योजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले जनकपुरधामको विकास मात्र भौतिक पूर्वाधार निर्माणमा सीमित हुन नहुने भन्दै यहाँको मौलिक पहिचान बोकेका क्षेत्रहरूको संरक्षण, प्रवर्द्धन र संस्थागत विकास अपरिहार्य रहेको बताए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता झाले जनकपुरधामको समग्र विकासका लागि पाँच आधारस्तम्भ प्रस्तुत गरेका छन् ।
उनका अनुसार खेलकुद, शिक्षा, धर्म, राजनीति र व्यवसायलगायतका पाँच क्षेत्र नगरको परिचय मात्र नभई सम्पूर्ण मधेश प्रदेशको सामाजिक एवम् आर्थिक भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएका आधारहरू हुन् ।
उनले राज्य, स्थानीय तह, निजी क्षेत्र र नागरिक समाज सबैले संयुक्त रूपमा यी क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
झाले जनकपुरधामको आर्थिक सम्भावनालाई उपयोग गर्न व्यवसायिक क्षेत्रलाई अझ व्यवस्थित र सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनका अनुसार माछा, पान, मखान तथा कृषि उत्पादन जनकपुरधामको परम्परागत र शक्तिशाली आर्थिक आधार बन्न सक्छन् ।
पोखरीहरूको बाहुल्य रहेको जनकपुरधाममा आधुनिक र व्यवसायिक माछापालनलाई विस्तार गर्न सकिए आर्थिक गतिविधि तीव्र हुने मात्र नभई ठूलो संख्यामा रोजगारी सिर्जना हुने उनको भनाइ छ ।
उनले स्थानीय स्रोत र सम्भावनाको सही उपयोग हुन नसकेको अवस्थामा विकास अपेक्षित गतिमा अघि नबढ्ने चेतावनीसमेत दिएका छन् ।
उनले जनकपुरधामलाई नेपालकै प्रमुख धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने स्पष्ट सम्भावना रहेको उल्लेख गरे ।
जनकपुरधाममा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा उल्लेखनीय वृद्धि हुने उनले बताए ।

उनका अनुसार माछा उत्पादन, कृषि तथा स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर नयाँ आर्थिक मोडेल विकास गर्न सकिन्छ । यसले हजारौँदेखि लाखौँसम्म रोजगारी सिर्जना गर्न सक्ने आधार तयार पार्नेछ ।
नेता झाले जनकपुरधामको दीर्घकालीन विकासका लागि कुनै एक पक्षको प्रयास मात्र पर्याप्त नहुने बताउँदै सरकार, स्थानीय तह, निजी क्षेत्र तथा नागरिक समाजबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
‘सम्भावनै सम्भावनाले भरिएको जनकपुरधामको समग्र विकासका लागि सबै सरोकारवालाले एकताबद्ध भएर अघि बढ्न आवश्यक छ,’उनले भने ।
उनले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा आर्थिक पहिचानलाई जोगाउँदै आधुनिक विकासतर्फ अग्रसर हुन सके मात्र यस क्षेत्रले अपेक्षित समृद्धि हासिल गर्न सक्ने निष्कर्षसमेत प्रस्तुत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


