कालिका पोलिटेक्निकले बढायो हरिपुर्वाको शैक्षिक पहिचान

जनकपुरधाम, ०३ जेठ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्राविधिक शिक्षाको क्षेत्रमा नयाँ सम्भावना र सकारात्मक परिवर्तनको वातावरण निर्माण गर्न सुरेन्द्र यादव नेतृत्वको कालिका पोलिटेक्निक इन्स्टिच्युट सफल भएको भन्दै स्थानीय स्तरमा यसको व्यापक प्रशंसा हुन थालेको छ ।
विगत केही वर्षयता प्राविधिक शिक्षाको पहुँच ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उक्त संस्थाले अहिले हरिपुर्वा नगरपालिकाको शैक्षिक गौरव बढाउने काम गरिरहेको स्थानीयवासी तथा अभिभावकहरूको भनाइ छ ।
विशेषगरी मधेशका विद्यार्थीहरूलाई बाहिरका शहर धाउनुपर्ने बाध्यता कम गर्दै आफ्नै क्षेत्रमा गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउन संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
स्थानीय बुद्धिजीवी तथा सामाजिक अगुवाहरूका अनुसार हरिपुर्वाजस्तो क्षेत्रमा प्राविधिक शिक्षाको वातावरण तयार गर्नु आफैंमा चुनौतीपूर्ण काम भए पनि संस्थाका सञ्चालक तथा नेतृत्वकर्ता सुरेन्द्र यादवले त्यसलाई सम्भव बनाएका छन् ।
उनीहरूको भनाइमा कालिका पोलिटेक्निकले शिक्षण संस्था मात्रै नभई युवाहरूको भविष्य निर्माण गर्ने प्लेटफर्मको रूपमा आफ्नो पहिचान बनाइरहेको छ ।
स्थानीय एक शिक्षाप्रेमीले भने, ‘हरिपुर्वा नगरपालिकाको गौरव बढाउन सुरेन्द्र यादव नेतृत्वको कालिका पोलिटेक्निक इन्स्टिच्युटले ठूलो योगदान दिएको छ । यसले यहाँका विद्यार्थीका लागि अवसर सिर्जना गरेको मात्रै नभई प्राविधिक शिक्षाप्रति आकर्षण पनि बढाएको छ ।’
उनका अनुसार ग्रामीण तथा मध्यमवर्गीय परिवारका विद्यार्थीहरूका लागि यस्तो संस्था ठूलो अवसर बनेको छ ।
आर्थिक अभावका कारण बाहिरी जिल्लामा अध्ययन गर्न नसक्ने विद्यार्थीले आफ्नै क्षेत्रमै प्राविधिक शिक्षा प्राप्त गर्ने वातावरण पाएका छन् ।
यद्यपि, शिक्षाको गुणस्तरलाई अझ प्रभावकारी बनाउन अनुशासन, जिम्मेवारीबोध र शैक्षिक वातावरणलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।
सरोकारवालाहरूले विद्यार्थीलाई अनुशासित बनाउने, शिक्षकलाई जिम्मेवार बनाउने तथा अध्ययन–अध्यापनलाई थप व्यवस्थित बनाउने विषयमा कलेज व्यवस्थापनले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
स्थानीय अभिभावकहरूको भनाइमा, ‘कलेजका अधिकांश पक्ष निकै राम्रो र प्रशंसनीय छन् । तर, राम्रो शैक्षिक परिणामका लागि विद्यार्थी र शिक्षक दुवैले आफ्नो जिम्मेवारी अझ गम्भीर रूपमा लिनुपर्छ । व्यवस्थापनले यसमा थप निगरानी र सुधार गर्न सके संस्था अझ उत्कृष्ट बन्न सक्छ ।’

यसैबीच, कालिका पोलिटेक्निक इन्स्टिच्युटले प्राविधिक शिक्षा, सीप विकास र युवालाई रोजगारमुखी बनाउने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
संस्थाले विभिन्न प्राविधिक विषयमा अध्ययन गराउँदै युवालाई दक्ष जनशक्ति बनाउने लक्ष्य लिएको बताइएको छ ।
शिक्षा क्षेत्रमा भइरहेको यस्तो प्रयासले हरिपुर्वा नगरपालिकाको शैक्षिक पहिचानलाई नयाँ उचाइमा पुर्याउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् ।
साथै, ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय प्राविधिक शिक्षा सम्भव छ भन्ने उदाहरण कालिका पोलिटेक्निक इन्स्टिच्युटले प्रस्तुत गरेको उनीहरूको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


