जनकपुरधाम, ०३ जेठ । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धीरेन्द्र कुमार निधि (श्याम) को निधन भएको छ ।

६५ वर्षीय निधिको आइतबार दिउँसो करिब ३ः३० बजे प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विगत एक वर्षदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित निधिले नियमित उपचार गराइरहेका थिए ।

पछिल्लो समय स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

नेपाली कांग्रेसभित्र सक्रिय तथा मिलनसार नेताका रूपमा परिचित श्याम निधि धनुषा जिल्लाको राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिन्थे ।

पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा स्थानीय राजनीतिक गतिविधिमा उनको सक्रिय भूमिका रहेको नेताहरूले बताएका छन् ।

उनको निधनको खबर सार्वजनिक भएपछि कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूमा शोक छाएको छ ।

विभिन्न राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।