जनकपुरधाम, ०३ जेठ । सामाजिक उद्यमशीलता तथा नवप्रवर्तनमार्फत युवालाई सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘नबिल स्कुल अफ सोशल इन्टरप्रेनरशिप’ कार्यक्रमअन्तर्गत पहिलो, दोस्रो र तेस्रो समूहका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

नबिल बैंकको पहल तथा मोनाष्टिक स्कुल/कलेजको कार्यान्वयनमा सञ्चालित कार्यक्रममा १८ देखि ४५ वर्ष उमेर समूहका ७५ जना सहभागीले तालिम सफलतापूर्वक पूरा गरेपछि प्रमाणपत्र प्राप्त गरेका हुन् ।

सहभागीमध्ये ४१ जना पुरुष र ३४ जना महिला रहेको मोनाष्टिक स्कुलका निर्देशक डा. सोनु कुमारले जानकारी दिए ।

प्रत्येक समूहका लागि तीन महिनासम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा सामाजिक उद्यमशीलतासम्बन्धी १२ वटा विशेषज्ञ–नेतृत्वका सत्र तथा दुईवटा क्षेत्रीय अवलोकन भ्रमण समावेश गरिएको उनले बताए ।

कार्यक्रममार्फत सहभागीहरूले सामाजिक उद्यम, नवप्रवर्तन, नेतृत्व विकास तथा व्यावहारिक व्यवसायिक अनुभव हासिल गर्ने अवसर पाएका थिए ।

प्रमाणपत्र वितरण कार्यक्रममा कृष्ण प्रसाद लम्साल तथा प्रदीप हमाललगायतको उपस्थिति रहेको थियो ।

उनीहरूले युवामा सिर्जनशील सोच, उद्यमशीलता र सामाजिक प्रभावमुखी नेतृत्व विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।

आयोजक संस्थाले सामाजिक परिवर्तनका लागि काम गर्न इच्छुक युवालाई सीप, ज्ञान र अवसरसँग जोड्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।