१४१ किलो गाँजासहित दुई जना पक्राउ

सप्तरी, ०२ जेठ । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुर क्षेत्रमा सवारी जाँचका क्रममा प्रहरीले १४१ किलो गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा धनकुटाको साङ्गुरीगढी गाउँपालिका–१ निवासी ३३ वर्षीय महाप्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका–५ का ४७ वर्षीय बलबहादुर लिम्बू रहेका छन् ।
उनीहरू धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यानमा सवार थिए ।
प्रहरीले शङ्काका आधारमा पिकअप भ्यान खानतलासी गर्दा भित्र लुकाएर राखिएको १४ वटा पोकाबाट कुल १४१ किलो गाँजा फेला परेको जनाएको छ ।
सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार गाँजासहित पिकअप भ्यान नियन्त्रणमा लिइएको छ ।
दुवै आरोपितलाई सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यता, सवारी ज्यान मुद्दामा आठ महिनादेखि फरार रहेका एक प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खडक नगरपालिका–१० का २६ वर्षीय शिवामणि चौधरी रहेका छन् । उनलाई बेल्हा क्षेत्रबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०८२ असोज १६ गते खडक नगरपालिका–११ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चालक चिन्तामणि चौधरी र सोभिनकुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।
सो घटनापछि फरार रहेका चौधरीविरुद्ध सवारी ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसैबीच, अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मा गुडिरहेको गाडी रोकी सिसा फुटाउने तथा गालीगलौज गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय सन्तोष मण्डल र ३३ वर्षीय सञ्जय चौधरी रहेका छन् ।
राजेन्द्रप्रसाद साहको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


