सिरहा, ०२ जेठ । लहान नगरपालिकाले नगरलाई खुला दिशामुक्त तथा पूर्ण सरसफाइयुक्त बनाउने अभियानलाई तीव्र बनाएको छ ।

नगरभित्र अझै चार हजार २०१ विपन्न दलित तथा मुसहर परिवार शौचालयविहीन रहेको तथ्यांक सार्वजनिक भएपछि नगरपालिका विशेष रणनीतिसहित अभियानमा जुटेको हो ।

नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये ठूलो संख्या अझै आधारभूत सरसफाइ सुविधाबाट वञ्चित रहेको भन्दै नगरपालिकाले गैरसरकारी संस्था दलित जनकल्याण युवा क्लबसँग सहकार्य गरी मुसहर बस्तीहरूमा आधुनिक सामुदायिक शौचालय निर्माण सुरु गरेको जनाएको छ ।

शनिबार आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले हालसम्म विभिन्न सुकुमवासी बस्तीमा छ वटा सुविधा सम्पन्न सामुदायिक शौचालय निर्माण भई सञ्चालनमा आइसकेको जानकारी दिए ।

उनले जग्गा अभावका कारण व्यक्तिगत शौचालय बनाउन नसकेका परिवारलाई लक्षित गरी थप क्षेत्रमा पनि सामुदायिक शौचालय विस्तार गरिने बताए ।

‘लहानलाई शतप्रतिशत शौचालययुक्त नगर बनाउने हाम्रो लक्ष्य हो,’ नगरप्रमुख चौधरीले भने, ‘यो अभियान नगरपालिकाको मात्र नभई सम्पूर्ण नगरवासीको साझा दायित्व हो ।’

अभियानलाई प्रभावकारी बनाउन नगरका विभिन्न वडामा ८१ वटा टोलस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समिति गठन गरिएको छ ।

समितिमार्फत स्थानीय युवा तथा क्लबहरूलाई परिचालन गर्दै घरायसी सरसफाइ, वातावरणीय स्वच्छता, महिनावारी व्यवस्थापन तथा पानीजन्य रोग नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा सहकार्य गरिरहेको विकन परियोजनाका प्रबन्धक राजेश लोहनीले टोलस्तरबाटै अभियान सञ्चालन गरिएकाले नागरिकको व्यवहारमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

नगरपालिकाका अनुसार यही जेठ महिनाभित्र लहान नगरपालिका–७ लाई औपचारिक रूपमा ‘खुला दिशामुक्त वडा’ घोषणा गर्ने तयारी पूरा भइसकेको छ ।

वडा नम्बर ७ पछि अन्य वडाहरूलाई पनि क्रमिक रूपमा खुला दिशामुक्त तथा पूर्ण सरसफाइयुक्त बनाउँदै लैजाने नगरपालिकाको योजना रहेको छ ।