महोत्तरी सीमा ‘तस्करी ट्रान्जिट’ बन्दै: गाँजा, मदिरादेखि स्याउसम्म बरामद

जनकपुरधाम, ०२ जेठ । नेपाल–भारत सीमामा तस्करी नियन्त्रणका लागि खटिएका नेपाली सुरक्षा निकायमाथि प्रश्न उठ्न थालेको छ ।
पछिल्ला केही सातायता भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले महोत्तरीसँग जोडिएका विभिन्न सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा गाँजा, मदिरा, चरेस, स्याउ लगायतका अवैध सामान बरामद गरेपछि नेपाली सुरक्षा संयन्त्रको भूमिकामाथि स्थानीयस्तरमै शंका बढेको हो ।
भारतीय पक्षले एकपछि अर्को गर्दै तस्करीका सामान नियन्त्रणमा लिइरहँदा नेपाली सीमा सुरक्षा निकाय भने मौन देखिएको भन्दै स्थानीयवासी, सीमा सरोकारवाला तथा बुद्धिजीवीहरूले लाइन मिलाएर संगठित रूपमा तस्करी भइरहेको आशंका व्यक्त गर्न थालेका छन् ।

विशेषगरी महोत्तरीका विभिन्न नाकाबाट सहजै भारत पुगेका सामान भारतीय एसएसबीले नियन्त्रणमा लिइरहेको घटनाले नेपाली सुरक्षा घेराको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
स्थानीय भन्छन्, ‘भारतीय एसएसबीले समातेका सामान आकाशबाट उडेर भारत पुगेका होइनन्, महोत्तरीकै सडक हुँदै सीमा पार गरेका हुन् ।’
पछिल्लो दुई साताको घटनाक्रम मात्रै हेर्ने हो भने महोत्तरीसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय एसएसबीले लगातार अवैध सामान बरामद गरिरहेको देखिन्छ ।

शनिबार सिर्सिया–डिमाही क्षेत्रको पिलर नम्बर ३१० नजिक भारतीय एसएसबीले स्याउ लोड गरिएको पिकअप नियन्त्रणमा लिएको थियो । त्यसभन्दा केही दिनअघि बिहीबार भारतको सितामढी जिल्लास्थित सुरसण्ड क्षेत्रमा १४२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यस्तै, शुक्रबार बिहारमा प्रतिबन्धित ४४ दशमलव ७ लिटर मदिरासहित एक व्यक्ति सीमा स्तम्भ नम्बर ३०४/१ नजिकबाट पक्राउ परे । भारतीय एसएसबीको ५१औँ बटालियनले भिठ्ठामोड क्षेत्रमा मोटरसाइकलमार्फत लैजाँदै गरिएको ठूलो परिमाणको मदिरा बरामद गरेको जनाएको छ ।
त्यसअघि बैशाख २५ गते १७८ बोतल नेपाली मदिरा बरामद भएको थियो भने बैशाख २२ गते पिलर नम्बर ३०७ नजिकबाट ७२० बोतल मदिरा नियन्त्रणमा लिइएको थियो ।

सोही दिन ३ किलो चरेससहित दुई मोटरसाइकल र दुई व्यक्ति पक्राउ परेका थिए । बैशाख २१ गते मात्रै ७८० लिटर मदिरा बरामद भएको विवरण भारतीय अनलाइन पोर्टलहरूमा प्रकाशित भएको छ ।
यी सबै घटनामा बरामद गरिएका सामान महोत्तरीकै सीमावर्ती सडक हुँदै भारत प्रवेश गरेको उल्लेख गरिएको छ ।
स्थानीयवासीहरूका अनुसार सीमामा चौबीसै घण्टा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको उपस्थिति रहने क्षेत्रबाट पटकपटक ठूलो परिमाणमा अवैध सामान पार हुनु सामान्य घटना हुनै सक्दैन ।
उनीहरू भन्छन्, ‘लाइन मिलाएका तस्करका सामान सहजै सीमा कटाइन्छ । तर, सामान्य व्यापारी र सर्वसाधारण भने अनावश्यक हैरानी खेप्न बाध्य छन् ।’
एक स्थानीय व्यवसायीले भने, ‘लाइन नमिलाउने व्यापारीलाई दुःख दिने, तर सेटिङ मिलेकाहरूको ट्रक, पिकअप र मोटरसाइकल खुला रूपमा सीमा पार हुने अवस्था छ । यस्तो काम सुरक्षा निकायको मिलेमतोबिना सम्भव हुँदैन ।’

भारतीय एसएसबीले पक्राउ गरेका गाँजा तथा मदिरा बोकेका सवारीहरू मुख्य नाका भएरै भारत प्रवेश गर्ने गरेको दाबी भारतीय सुरक्षाकर्मीहरूले पनि गर्दै आएका छन् । यसले नेपाली सुरक्षा संयन्त्रमाथिको दबाब झनै बढाएको छ ।
लगातार सार्वजनिक भइरहेका घटनापछि सीमामा खटिएका प्रहरी तथा सशस्त्र प्रहरीको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्न थालेको छ ।
स्थानीय बुद्धिजीवीहरू प्रश्न गर्छन्, ‘यदि नेपाली सुरक्षा निकायले प्रभावकारी निगरानी गरेको भए भारतीय पक्षले यति धेरै सामान समात्ने अवस्था किन आउँथ्यो ?’
सीमा क्षेत्रका जानकारहरूका अनुसार अहिले महोत्तरीको सीमा क्षेत्र संगठित तस्करीको ट्रान्जिट करिडोर जस्तै बन्दै गएको छ ।
उनीहरू भन्छन्, ‘सीमामा हुने अवैध कारोबारले राज्यको राजस्वमात्र नभई राष्ट्रिय सुरक्षा प्रणालीको विश्वसनीयतामाथि समेत गम्भीर असर पारिरहेको छ ।’
एक सीमा विश्लेषकका अनुसार महोत्तरी क्षेत्रमा तस्करी अब सामान्य अवैध कारोबारको विषय मात्र रहेन । यसले सीमा प्रशासन, सुरक्षा संयन्त्र र स्थानीय राजनीतिक संरक्षणको सम्भावित सञ्जालबारे समेत प्रश्न उठाएको छ ।
सीमावर्ती क्षेत्रका स्थानीयवासीहरूले अहिले सीमामा खटिएका सुरक्षाकर्मीको सम्पत्ति, गतिविधि र सीमाक्षेत्रमा हुने लेनदेनमाथि छानबिन गर्न माग गरेका छन् ।
उनीहरूका अनुसार एउटै क्षेत्रबाट बारम्बार गाँजा, मदिरा, चरेस तथा अन्य अवैध सामान भारत पुगिरहनु सामान्य कमजोरी नभई संगठित तस्करीको संकेत हो ।
स्थानीय सरोकारवालाहरू भन्छन्, ‘भारतीय एसएसबीले महोत्तरीकै बाटो हुँदै गएका सामान समातिरहेको छ । तर, नेपाली पक्ष भने मौन छ । यसले सुरक्षा संयन्त्रभित्रै गम्भीर समस्या रहेको देखाउँछ ।’
उनीहरूले सीमामा कडा निगरानी, नियमित अनुगमन, संलग्नमाथि कारबाही र सुरक्षा निकायको भूमिकामाथि उच्चस्तरीय अनुसन्धानको माग गरेका छन् ।
पछिल्ला घटनाले महोत्तरीको सीमा क्षेत्र अहिले सुरक्षा संवेदनशील क्षेत्रभन्दा बढी ‘सेटिङ र तस्करीको रुट’ का रूपमा चिनिन थालेको भन्दै स्थानीयले तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


