भन्सारबाट छुटेको पिकअप फेरि स्याउ तस्करीमै पक्राउ, सेटिङको आशंका

महोत्तरी, ०२ जेठ । महोत्तरीमा तस्करीको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको एउटा पिकअप फेरि चाइनिज स्याउ तस्करीमै प्रयोग भएको खुलेपछि भन्सार प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ ।
मलिवाडा भिठामोड भन्सार कार्यालयले केही दिनअघि मुद्दा नै नचलाइ फिर्ता गरेको प्र–१–०४–००१ च ०४१४ नम्बरको पिकअप भारतीय सीमा क्षेत्रमा चाइनिज स्याउ बोकेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको हो ।
भारतीय सुरक्षाकर्मीका अनुसार सिरसिया डिमाहीस्थित पिलर नम्बर ३१० नजिक ५१ नम्बर बटालियनले उक्त पिकअपसहित तस्करीका सामान बरामद गरेको हो ।
यसअघि गत बैशाख १९ गते राति सशस्त्र प्रहरी बल महोत्तरीले इटहर्बाकट्टी नाकाबाट तीन वटा पिकअप नियन्त्रणमा लिएको थियो । ती गाडीमा करिब ६ हजार किलो चाइनिज स्याउ रहेको र सामानको अनुमानित मूल्य ४१ लाख ७० हजार ५ सय रुपैयाँ बराबर रहेको प्रहरी प्रतिवेदनमा उल्लेख थियो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती सामान भन्सार छल्दै भारततर्फ लैजान खोजिएको देखिएको थियो । सशस्त्र प्रहरी पुगेपछि चालकहरू गाडी छाडेर फरार भएका थिए । त्यसपछि बरामद सामान र गाडी भन्सार कार्यालयलाई बुझाइएको थियो ।
भन्सार कार्यालयले सुरुमा बरामद सामान लिलामी गर्ने सूचना निकाले पनि केही घण्टामै मुद्दा नचलाउने निर्णय गर्दै गाडी र सामान फिर्ता गरेको स्रोतले जनाएको छ ।
स्थानीयवासीका अनुसार सुरुदेखि नै केही बिचौलियाको सक्रियतामा गाडी छुटाइएको चर्चा चलिरहेको थियो ।
अहिले सोही पिकअप फेरि तस्करीमा समातिएपछि भन्सार कर्मचारी, तस्कर र बिचौलियाबीच मिलेमतो भएको आशंका थप बलियो बनेको छ ।
घटनापछि स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
उनीहरूले सीमाक्षेत्रमा भइरहेको तस्करी नियन्त्रणमा प्रशासन असफल भएको आरोपसमेत लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


