जनकपुरधाम, ०२ जेठ । मिथिलाञ्चलसहित देशका विभिन्न क्षेत्रमा आज विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु, पारिवारिक सुख–समृद्धि तथा सन्तान प्राप्तिको कामना गर्दै बटसावित्री पर्व श्रद्धा र उत्साहका साथ मनाएका छन् ।

प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिमा मनाइने यो पर्वका अवसरमा शनिबार बिहानैदेखि बरको रूखमुनि पूजा गर्ने महिलाहरूको भीड देखिएको थियो ।

जनकपुरधाम, सिरहा, सप्तरी, महोत्तरी, धनुषा, सर्लाहीलगायत मिथिलाका मठमन्दिर तथा सार्वजनिक स्थलहरूमा महिलाहरू पारम्परिक भेषभूषा र श्रृङ्गारमा सजिएर पूजाआजामा सहभागी भएका थिए ।

मिथिला संस्कृतिमा बटसावित्री पर्वलाई आदर्श नारीत्व, दाम्पत्य जीवनको सुदृढता तथा पारिवारिक समृद्धिसँग जोडेर हेर्ने गरिन्छ ।

विशेषगरी नवविवाहित महिलाहरूका लागि यो पर्वलाई विशेष महत्वका साथ मनाउने परम्परा रहेको छ । यस अवसरमा माइती वा बेहुलाको घरबाट पूजा सामग्री, वस्त्र तथा विभिन्न उपहार ‘पाहुर’ पठाउने चलन पनि कायम छ ।

व्रतालु महिलाहरूले बरको रूखमा काँचो धागो बेरेर पूजा गर्नुका साथै बटसावित्रीको पौराणिक कथा श्रवण गर्ने गर्दछन् । हिन्दु धार्मिक विश्वासअनुसार बरको रूखलाई पवित्र र दीर्घायुको प्रतीक मानिन्छ ।

पौराणिक कथाअनुसार सावित्रीले आफ्नो अटल सतीत्व, भक्ति र तपस्याको बलमा मृत्युका देवता यमराजबाट पति सत्यवानको प्राण फिर्ता ल्याएकी थिइन् ।

सोही घटनाको स्मरणमा यो पर्व परापूर्वकालदेखि मिथिलाञ्चलमा मनाइँदै आएको धार्मिक तथा सांस्कृतिक विश्वास छ ।

मिथिलामा बटसावित्री पर्वलाई ‘बरसाइत’ नामले पनि चिनिन्छ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक सम्बन्धलाई मजबुत बनाउने पर्वका रूपमा यसलाई विशेष महत्व दिइन्छ ।