जनकपुरधाम, ०२ जेठ । मिथिला सभ्यता, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित जारी जनकपुर साहित्य महोत्सवअन्तर्गत दोस्रो दिन शनिबार ‘हेरिटेज वाक’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

जनकपुरधामका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको महत्व उजागर गर्दै जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियानलाई थप बल पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हेरिटेज वाकमा विद्यार्थी, युवा, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

महोत्सवको पहिलो सत्रअन्तर्गत आयोजित हेरिटेज वाक प्रसिद्ध जानकी मन्दिर परिसरबाट सुरु भएको थियो । सहभागीहरूको विशाल जुलुस नगर परिक्रमा गर्दै राम मन्दिर, पेठिया बजार, दशरथ तलाउ, बाह्रबिघा, अरगजा पोखरी, धनुष सागर र गंगा सागरलगायतका ऐतिहासिक तथा धार्मिक स्थल हुँदै महेन्द्र नारायण निधि सभाकक्ष पुगेर समापन भएको थियो ।

हेरिटेज वाकमा सहभागीहरूले जनकपुरधामको प्राचीन सांस्कृतिक पहिचानलाई संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै सम्पदाको महत्वबारे जनचेतना फैलाउने प्रयास गरेका थिए ।

आयोजकका अनुसार जानकी मन्दिरसँगै जनकपुरधामका अन्य ऐतिहासिक स्थलहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यप्रेमी, स्थानीयवासी तथा सशस्त्र प्रहरी बल (एपीएफ) का जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले सांस्कृतिक नारासहित नगर परिक्रमा गर्दा जनकपुरधामको सडक क्षेत्र उत्साहमय बनेको थियो ।

हेरिटेज वाकको समापनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य मनिष झाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।

उनले यसका लागि आवश्यक प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेपछि औपचारिक प्रक्रिया थप तीव्र हुने बताए ।

उनले जनकपुरधाम धार्मिक नगरी मात्र नभई मिथिला सभ्यताको जीवित केन्द्र भएकाले यसको सम्पदा संरक्षण राष्ट्रिय प्राथमिकताको विषय हुनुपर्ने उल्लेख गरे ।

‘जनकपुरधामको ऐतिहासिकता र सांस्कृतिक महत्व अन्तर्राष्ट्रिय समुदायसमक्ष स्थापित गर्न अब सबै पक्ष एकजुट हुन आवश्यक छ,’ उनले भने ।

कार्यक्रमको अर्को आकर्षणका रूपमा कलाकार राजा राजपुतको सांगीतिक प्रस्तुति रहेको थियो ।

हेरिटेज वाकमा सहभागी भएर थकित बनेका सहभागीहरूलाई उनले मैथिली गीतमार्फत मनोरञ्जन प्रदान गरेका थिए । उनको प्रस्तुतिमा सहभागीहरू झुमेका थिए भने सभाकक्षको वातावरण सांगीतिकमय बनेको थियो ।

जनकपुर साहित्य महोत्सवअन्तर्गत विभिन्न साहित्यिक, सांस्कृतिक तथा बौद्धिक कार्यक्रमहरू जारी रहेका छन् ।

आयोजकले महोत्सवमार्फत मिथिला संस्कृति, भाषा, साहित्य र सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ ।