जनकपुरधाम, ०१ जेठ । ढल्केवर–बालगंगा १३२ केभी प्रसारण लाइनअन्तर्गत तार तान्ने कार्यका कारण शनिबार बिहान जनकपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति आंशिक वा पूर्ण रूपमा प्रभावित हुन सक्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार जेठ २ गते बिहान ७ बजेदेखि १० बजेसम्म मुजेलिया सवस्टेशनबाट वितरण हुने क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन सक्ने जनाएको हो ।

प्राधिकरणका अनुसार निर्धारित समयमा ढल्केवर–बालगंगा १३२ केभी प्रसारण लाइनको तार तान्ने प्राविधिक कार्य गरिने भएकाले सेवा प्रभावित हुने अवस्था आएको हो ।

कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति तत्काल सञ्चालन गरिने पनि जनाइएको छ ।

यस अवधिमा जनकपुर बजार क्षेत्रमा भने लोहरपट्टी सवस्टेशनमार्फत विद्युत आपूर्ति हुन सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

सेवा अवरोधबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले क्षमायाचना समेत गरेको छ ।