जनकपुरधाम, ०१ जेठ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित एक इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन मजदुरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्रबार साँझ करिब ६ बजे कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा अचानक पर्खालसहितको चाङ भत्किँदा काम गरिरहेका मजदुरहरू पुरिएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै स्थानीय र प्रहरीको सहयोगमा उद्धार कार्य सुरु गरिएको थियो ।

इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार मृत्यु हुनेमा गोडैता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताई मन्सुर, गोडैता नगरपालिका–९ निवासी ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेका छन् ।

घाइते अवस्थामा अस्पताल पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् ।

तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साँझ ६ः३० बजे घटनाको जानकारी प्राप्त भएपछि सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेका थिए ।

हाल जेसीबी प्रयोग गरी थप खोज तथा भग्नावशेष हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।