निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायी आन्दोलित, सरकारी कार्यालयमा धर्ना

जनकपुरधाम, ०१ जेठ । निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै धनुषाका निर्माण व्यवसायीहरूले आन्दोलनलाई थप सशक्त बनाएका छन् ।
मूल्य समायोजनको माग गर्दै आन्दोलनरत निर्माण व्यवसायीहरूले शुक्रबार जनकपुरधामस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय तथा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयमा धर्ना दिएका छन् ।
उनीहरूले सम्बन्धित कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका हुन् ।
निर्माण व्यवसायीहरूको भनाइ अनुसार डिजेल, बिटुमिन, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा निर्माण लागत अत्यधिक वृद्धि भएको छ ।
मूल्य समायोजन नभए अधिकांश निर्माण व्यवसायी आर्थिक संकटमा पर्ने र विकास निर्माणका काम प्रभावित हुने अवस्था सिर्जना भएको उनीहरूको दाबी छ ।
धनुषा निर्माण व्यवसायी संघका पदाधिकारीहरूले सरकारले पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै ठोस निर्णय नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले यसअघि नै मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय गर्न सरकारलाई अल्टिमेटम दिएको स्मरण गराउँदै उनीहरूले अझै माग सम्बोधन नभएको गुनासो गरेका छन् ।
संघका प्रतिनिधि अशोककुमार चौधरीले सरकारको बेवास्ताका कारण निर्माण क्षेत्र धराशायी हुने जोखिम बढेको बताए ।
उनले समयमै मूल्य समायोजन नभए देशभर सञ्चालनमा रहेका विकास आयोजनाहरू प्रभावित हुने चेतावनी दिए । त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सरकारकै हुने उनको भनाइ थियो ।
आन्दोलनका क्रममा निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय धनुषाको मुख्य गेटअगाडिसमेत धर्ना दिएका थिए ।
माग सम्बोधन नभए आगामी दिनमा आन्दोलनलाई अझ कडा बनाइने संघले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


