जनकपुरधाम, ०१ जेठ । जनकपुरधामको गंगासागर पोखरी आसपासबाट हटाइएका फुटपाथ व्यवसायीहरूको व्यवस्थापनका लागि ‘फुटपाथ मिना बजार’ सञ्चालनमा ल्याइएको छ ।

जनकपुर कपडा तथा रेडिमेड व्यवसायी महासंघको अगुवाइमा विस्थापित व्यवसायीलाई वैकल्पिक व्यापारिक स्थान उपलब्ध गराउने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको हो ।

मिना बजारको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य मनिष झाले फुटपाथ व्यवसायीहरूको व्यवस्थापनका लागि गरिएको पहल स्वागतयोग्य भएको बताए ।

देशभर फुटपाथमा व्यवसाय गर्नेको संख्या ठूलो रहेकाले त्यस्ता व्यवसायीहरूको तथ्यांक संकलन आवश्यक रहेको उनको भनाइ थियो ।

महासंघका अनुसार मिना बजारमा १०० भन्दा बढी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

व्यवसाय सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षागार्डको व्यवस्था गर्नुका साथै सिसी क्यामेरा जडान गरिने जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले पनि फुटपाथ व्यवसायी व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

सरकारी प्रक्रिया पूरा हुन समय लाग्ने देखिएपछि तत्काल राहतस्वरूप निजी स्तरबाट पहल थालिएको महासंघले जनाएको छ ।