आजदेखि ‘जनकपुर साहित्य महोत्सव’को सातौं संस्करण सुरू, १३ विषयमा खुला विमर्श हुँदै

जनकपुरधाम, ०१ जेठ । मिथिला कला, साहित्य, संस्कृति र बौद्धिक बहसको साझा मञ्चका रूपमा स्थापित हुँदै गएको ‘जनकपुर साहित्य महोत्सव’को सातौं संस्करण आजदेखि जनकपुरधाममा सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवलाई यसपटक विशेष रूपमा जनकपुरधामको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पहिचानसँग जोडेर प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
नव मिथिला फाउण्डेसनको आयोजना तथा फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको महोत्सव जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवका सम्पूर्ण कार्यक्रम महेन्द्र नारायण निधि भवन परिसरमा आयोजना भइरहेका छन् ।
महोत्सवमा साहित्यदेखि सुशासन, पर्यटनदेखि खेलकुद, महिला लेखनदेखि सम्पदा संरक्षणसम्मका विषयमा खुला बहस, संवाद र प्यानल छलफल भइरहेको छ ।
आयोजकका अनुसार यस वर्ष १३ वटा ओपन–एयर प्यानल छलफल आयोजना गरिनेछ । ‘मैथिली कथाको नेपाली संसार’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘किन हुन्छ खेलकुदमा खेलवाड?’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ?’, ‘सञ्चारकर्मको बदलिँदो परिदृश्य’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने सम्भावना’ तथा ‘नेपाली महिला लेखनः संघर्षदेखि सिर्जनासम्म’ लगायत विषयमा लेखक, पत्रकार, अनुसन्धानकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका विज्ञबीच बहस हुने जनाइएको छ ।
महोत्सव निर्देशक राजीवधर जोशीले यसपटकको संस्करणलाई अघिल्ला वर्षभन्दा फरक ढंगले तयार गरिएको बताए । उनका अनुसार जनकपुरधामको इतिहास, सम्पदा र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर कार्यक्रमको संरचना बनाइएको हो ।
महोत्सवको अर्को विशेष आकर्षणका रूपमा प्रभातकालीन सम्पदा पदयात्रालाई लिइएको छ ।
फाउण्डेसनका उपाध्यक्ष आदित्य नेपालका अनुसार शनिबार बिहान आयोजना हुने पदयात्रामा १२ सयदेखि १५ सयसम्म सहभागी हुने अपेक्षा गरिएको छ ।
सहभागीहरू एउटै प्रकारको पोशाकमा जनकपुरधामका ऐतिहासिक तथा धार्मिक स्थलहरूको अवलोकन गर्दै पदयात्रामा सहभागी हुनेछन् ।
उनका अनुसार पदयात्रामार्फत सम्पदाको महत्व, संरक्षणको आवश्यकता र सांस्कृतिक पहिचानको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ ।
यसअघि आयोजित संस्करणहरूले मिथिलाको भाषा, साहित्य, संस्कृति तथा बौद्धिक विमर्शलाई राष्ट्रिय स्तरमा जोड्ने महत्वपूर्ण मञ्चको रूपमा पहिचान बनाएको आयोजकको दाबी छ ।
विशेषगरी मैथिली भाषा, मधेशको समाज, धार्मिक पर्यटन, महिला सवाल र सांस्कृतिक बहसलाई राष्ट्रिय मूलधारमा ल्याउन महोत्सवले भूमिका खेलेको साहित्यिक वृत्तमा चर्चा हुँदै आएको छ ।
यस वर्ष पनि देशका विभिन्न क्षेत्रबाट साहित्यकार, पत्रकार, कलाकार, शिक्षाविद्, सामाजिक अभियन्ता तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
खुला वातावरणमा हुने छलफल, सांस्कृतिक प्रस्तुतिहरू तथा सम्पदामाथिको विमर्शले केही दिनका लागि जनकपुरधामलाई साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा रूपान्तरण गर्ने विश्वास गरिएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संस्कृति तथा संस्कारको पहिचान बोकेको जनकपुरधाममा साहित्य महोत्सव आयोजना हुनु खुशीको विषय भएको बताए ।
उनले मैथिली, नेपाली तथा नेवारी भाषा संस्कृतिलाई जोड्ने कार्यक्रमहरूले राष्ट्रिय एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
नेपालका उद्योगी तथा गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध राष्ट्रका रूपमा हेर्न चाहेको उल्लेख गर्दै त्यसका लागि दृढ संकल्पसहित काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य तथा महोत्सवका परिकल्पनाकार मनिष झाले नव मिथिला फाउण्डेसनले भाषा, साहित्य, संस्कृति, कला तथा उद्यमशीलताको प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आएको बताए ।
भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले साहित्य महोत्सवले लोकगीत, परम्परा, संस्कृति र संस्कारको संरक्षणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नव मिथिला फाउण्डेसनका अध्यक्ष अमित साहले पनि महोत्सवको उद्देश्य र तयारीबारे जानकारी गराएका थिए ।
महोत्सवमा समसामयिक विषयमा बहस, आलोचना, समालोचना, विचार विमर्श, चिन्तन, गन्थन मन्थन तथा एकल प्रवचनजस्ता गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


