क्यान्सरसँग लडिरहेका संगीतकर्मी अशोक दत्त ‘अमित झा स्मृति साहित्य तथा संगीत पुरस्कार’बाट सम्मानित

जनकपुरधाम, ०१ जेठ । क्यान्सर रोगसँग लामो समयदेखि संघर्षरत वरिष्ठ संगीतकर्मी अशोक दत्तलाई यस वर्षको प्रतिष्ठित ‘अमित झा स्मृति साहित्य तथा संगीत पुरस्कार’ प्रदान गरिएको छ ।
नव मिथिला फाउण्डेशनद्वारा आयोजित जनकपुर साहित्य महोत्सवको सातौं संस्करणमा दत्तलाई नगद १ लाख ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति भवनमा आयोजित कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा साहित्यकार, कलाकार तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
पुरस्कार ग्रहणपछि भावुक बनेका दत्तले आफू विगत सवा दुई वर्षदेखि क्यान्सरसँग संघर्षरत रहेको उल्लेख गर्दै दर्शक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे ।
उनले उपचारका क्रममा दुईवटा जटिल शल्यक्रिया गर्नुपरेको र शारीरिक रूपमा कमजोर बने पनि संगीतप्रतिको आफ्नो समर्पण अझै कायम रहेको बताए । उनले प्राप्त सम्मानले थप संघर्ष गर्न ऊर्जा र हिम्मत दिएको प्रतिक्रिया दिए ।
‘अमित झा स्मृति साहित्य तथा संगीत पुरस्कार’ साहित्य र संगीत क्षेत्रमा विशेष योगदान पुर्याउने स्रष्टालाई हरेक वर्ष प्रदान गरिँदै आएको छ ।
यसअघि यो सम्मान स्वर्गीय शास्त्रीय संगीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने जनकपुर साहित्य महोत्सवमा साहित्य, संस्कृति, राजनीति तथा संगीतसँग सम्बन्धित विभिन्न कार्यक्रम समेटिएका छन् ।
महोत्सवअन्तर्गत राजनीतिक विश्लेषक सीके लाल र साहित्य अनुरागी भूषिता वशिष्ठका विशेष प्रवचनसहित सांगीतिक प्रस्तुति पनि राखिएको आयोजकले जनाएको छ ।






तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


