निजी क्षेत्रमाथिको दबाबले लगानी र रोजगारी संकट गहिरिन सक्छ: मनिष रमन साह

जनकपुरधाम, ३१ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका सल्लाहकार मनिष रमन साहले निजी क्षेत्रमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासपूर्ण वातावरणले देशको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।
उनले आर्थिक अनियमितता तथा विभिन्न वित्तीय मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी र बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूमाथि भइरहेको पक्राउ तथा सार्वजनिक रूपमा गरिने व्यवहारले लगानीकर्तामा असुरक्षा बढाएको बताएका हुन् ।
साहले व्यवसायीहरूलाई अपराधीझैँ प्रस्तुत गर्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाउने र त्यसको प्रत्यक्ष असर उद्योग, व्यापार तथा रोजगारीमा पर्ने उल्लेख गरे ।
उनका अनुसार अस्थिर र भययुक्त वातावरणका कारण नयाँ लगानी प्रभावित हुनुका साथै सञ्चालनमा रहेका उद्योग व्यवसायसमेत संकटमा पर्न सक्ने अवस्था देखिएको छ ।
‘निजी क्षेत्र तर्सिने अवस्था आयो भने त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ । व्यवसायीलाई राष्ट्रको आर्थिक साझेदारका रूपमा सम्मान गरिनुपर्छ,’उनले भने ।
उनले आर्थिक सुधार र स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै दमनकारी शैलीले समस्या समाधानभन्दा झन् अस्थिरता निम्त्याउने धारणा राखे ।
साहले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
साथै, निजी क्षेत्रमाथि हुने अनावश्यक दबाब र सार्वजनिक अपमानले विदेशी लगानीकर्तामाझ समेत नकारात्मक सन्देश जाने भएकाले सरकारले संवेदनशील ढंगले कदम चाल्नुपर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


