शुल्क नतिरेको भन्दै जनकपुर पब्लिक स्कुलले छात्रालाई सार्वजनिक अपमान गरेको आरोप

जनकपुरधाम, ३१ बैशाख । जनकपुरधामस्थित एक निजी विद्यालयमाथि विद्यार्थीमाथि मानसिक दबाब र अपमानजनक व्यवहार गरेको आरोप लागेको छ ।
जनकपुरधाम–४ मा सञ्चालित जनकपुर पब्लिक स्कुलविरुद्ध अभिभावकहरूले सार्वजनिक रूपमा आवाज उठाउन थालेपछि घटना अहिले सामाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म व्यापक चर्चाको विषय बनेको छ ।
विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयको बाँकी शुल्कको विषयलाई लिएर कक्षाका अन्य विद्यार्थीहरूको अगाडि कथित रूपमा कान समातेर उठबस गराइएको आरोपपछि विद्यालय प्रशासनको कार्यशैलीमाथि प्रश्न उठेको हो ।
पीडित पक्षका अनुसार उक्त घटनाले छात्राको मानसिक अवस्थामै गम्भीर असर परेको छ ।
नाम सार्वजनिक नगर्ने सर्तमा एक अभिभावकले आफ्नी छोरीले विद्यालय जान अस्वीकार गरिरहेको बताए ।
‘ऊ निकै तनावमा छिन् । घरमा आएर पटक पटक भन्छे—‘बरु म झुण्डिएर मर्छु, तर त्यो विद्यालयमा अब पढ्न जान्नँ’,’ती अभिभावकले भने ।
उनका अनुसार आर्थिक समस्या र केही प्राविधिक कारणले विद्यालयको शुल्क बुझाउन केही ढिलाइ भएको थियो । तर, त्यसलाई व्यवस्थापन गर्ने साटो विद्यालयले छात्रामाथि सार्वजनिक अपमानको व्यवहार गरेको दाबी गरिएको छ ।
घटनापछि अभिभावकले आफ्नी छोरीलाई अर्को विद्यालयमा भर्ना गराउने तयारी गरेका छन् । तर, विद्यालय प्रशासनले ट्रान्सफर सर्टिफिकेट दिन आनाकानी गरेको आरोपसमेत लगाइएको छ ।
अभिभावकले विद्यालय सञ्चालकले दादागिरि शैलीमा व्यवहार गरिरहेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदनसमेत दिएको बताए ।
पीडित पक्षका अनुसार विद्यालय प्रशासनले अभिभावकसँग संवाद र सहकार्य गर्नेभन्दा दबाब दिने शैली अपनाएको छ । ‘शुल्क बुझाउन ढिलाइ हुनु अलग कुरा हो । तर, त्यसको सजाय एउटा बालिकालाई सबैको अगाडि अपमानित गरेर दिन पाइन्छ ?’ एक स्थानीय अभिभावकले प्रश्न गरे ।
स्थानीय अभिभावकहरूले विद्यालयमा शुल्क असुली र अनुशासनको नाममा विद्यार्थी तथा अभिभावकमाथि मानसिक दबाब सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाएका छन् ।
केही अभिभावकका अनुसार विद्यालयभित्र आर्थिक विषयलाई लिएर विद्यार्थीलाई अलग व्यवहार गरिने गरिएको छ ।
एक अभिभावकले विद्यालयको गेटमा खटिएका सुरक्षागार्डले अभिभावकले तिरेको शुल्कको बिलसमेत नियन्त्रणमा लिने गरेको आरोप लगाए ।
‘बिल देखाउन लगाएर खोसेर राख्ने कामसमेत भइरहेको छ । यस्तो व्यवहारले अभिभावकलाई नै अपराधीझैँ महसुस गराइन्छ,’ उनले भने ।
यस्ता गतिविधिले विद्यालय प्रशासनको पारदर्शिता, व्यवहार शैली र विद्यार्थीप्रतिको संवेदनशीलतामाथि थप प्रश्न उठाएको स्थानीयको भनाइ छ ।
घटनापछि सामाजिक सञ्जालमा विद्यालय प्रशासनको व्यापक आलोचना भइरहेको छ । धेरै अभिभावक तथा स्थानीय युवाले निजी विद्यालयहरूले शिक्षालाई सेवाभन्दा व्यापारको माध्यम बनाएको आरोप लगाएका छन् ।
कतिपयले विद्यालय सञ्चालकलाई शिक्षा माफियाको संज्ञा दिँदै विद्यार्थीको आत्मसम्मानमाथि खेलबाड भइरहेको टिप्पणी गरेका छन् ।
स्थानीयका अनुसार निजी विद्यालयहरूमा बढ्दो शुल्क, कडा प्रशासनिक व्यवहार र अभिभावकमाथिको दबाबले शिक्षा क्षेत्रप्रति नै नकारात्मक धारणा बन्न थालेको छ ।
‘विद्यालय भनेको बालबालिकाले सुरक्षित महसुस गर्ने ठाउँ हुनुपर्छ, डर र अपमानको केन्द्र होइन,’ एक स्थानीय बुद्धिजीवीले बताए ।
स्थानीय अभिभावकहरूका अनुसार उक्त विद्यालयमा विद्यार्थीमाथि दुर्व्यवहारको आरोप लागेको यो पहिलो घटना होइन । केही दिनअघि मात्रै सोही विद्यालयमा अध्ययनरत करिब १० वर्षीया छात्रालाई एक शिक्षकले कुटपिट गर्दा शरीरमा चोट लागेको घटना बाहिरिएको थियो ।
त्यस घटनाको आलोचना सेलाउन नपाउँदै पुनः अर्को विवाद सार्वजनिक भएपछि विद्यालय प्रशासनप्रति आक्रोश झन् चुलिएको छ ।
अभिभावकहरूले लगातार यस्ता घटना दोहोरिनु विद्यालयभित्रको वातावरण र व्यवस्थापनकै कमजोरी भएको दाबी गरेका छन् ।
विद्यालय बालबालिकाको मानसिक, भावनात्मक र बौद्धिक विकासको केन्द्र हो । नेपालको शिक्षा नीति तथा बालअधिकार सम्बन्धी कानुनले विद्यालयलाई बालमैत्री र हिंसामुक्त बनाउने व्यवस्था गरेको छ ।
तर, जनकपुरधाममा सार्वजनिक भएको पछिल्लो घटनाले निजी विद्यालयहरूमा विद्यार्थीमाथि हुने मानसिक दबाब र अपमानजनक व्यवहारबारे गम्भीर बहस सुरु गराएको छ ।
बालअधिकारकर्मीहरूले विद्यार्थीलाई सार्वजनिक रूपमा अपमानित गर्नु मानसिक हिंसाको स्वरूप हुन सक्ने बताएका छन् । उनीहरूले यस्तो घटनाले बालबालिकामा दीर्घकालीन मानसिक असर पर्न सक्ने चेतावनी दिएका छन् ।
यस सम्बन्धमा बुझ्न विद्यालय प्रशासनसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


