निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध धनुषाका निर्माण व्यवसायी आन्दोलित

जनकपुरधाम, ३१ बैशाख । निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै धनुषा निर्माण व्यवसायी संघले सरकारविरुद्ध आन्दोलन सुरु गरेको छ ।
संघले तत्काल मूल्य समायोजनको निर्णय नगरे जिल्लासहित देशभरका विकास निर्माणका काम बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ ।
संघले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै डिजेल, बिटुमिन, डण्डी, सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य लगातार बढ्दा निर्माण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको जनाएको हो ।
निर्माण लागत अत्यधिक बढेपछि ठेक्का सम्झौताअनुसार काम सञ्चालन गर्न कठिन भएको व्यवसायीहरुको भनाइ छ ।
धनुषा निर्माण व्यवसायी संघका अध्यक्ष अशोककुमार चौधरीले नेपाल निर्माण व्यवसायी महासंघले यसअघि नै मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय गर्न सरकारलाई अल्टिमेटम दिएको स्मरण गराउँदै हालसम्म कुनै सुनुवाइ नभएकाले चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको बताए ।
उनले सरकारले समयमै आवश्यक निर्णय नगरे देशभर सञ्चालनमा रहेका विकास निर्माणका आयोजना प्रभावित हुने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सरकारकै हुने उल्लेख गरे ।
आन्दोलनअन्तर्गत संघका पदाधिकारी तथा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय धनुषाको मुख्य गेट अगाडि धर्नासमेत दिएका छन् ।
शुक्रबार जिल्लाका विभिन्न विकासे कार्यालयहरुमा पनि ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम तय गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


