जनकपुरधाम, ३१ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत (निजी तथा आवासीय) विद्यालयलाई अनुमति प्राप्त कक्षासम्म मात्रै पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले बिहीबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८३ देखि जुन विद्यालयले जति कक्षासम्म सञ्चालन अनुमति प्राप्त गरेको छ सोहीअनुसार मात्र कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।

सूचनामा अनुगमनका क्रममा वा अन्य कुनै माध्यमबाट नियमविपरीत विद्यालय सञ्चालन भएको पाइएमा त्यस्ता विद्यालयलाई अवैध सूचीमा राखी आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ ।

अनुमति नलिई सञ्चालन भएका शैक्षिक संस्थामाथि पनि कानुनी प्रक्रिया अघि बढाइने उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले अभिभावकलाई पनि सचेत रहन आग्रह गरेको छ । विद्यार्थी भर्ना गराउँदा सम्बन्धित विद्यालयले अनुमति प्राप्त गरेको छ वा छैन, साथै कुन कक्षासम्म अनुमति लिएको हो भन्ने विषय अनुमति पत्र हेरेर यकिन गर्न अनुरोध गरिएको छ ।

शिक्षा, युवा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेयद्वारा जारी सूचनाको बोधार्थ जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा तथा प्यावसन, एन–प्यावसन र एम–प्यावसनलाई समेत पठाइएको छ ।