जनकपुरधाममा पहिलोपटक महिला क्रिकेट टुर्नामेन्ट सुरु

जनकपुरधाम, ३१ बैशाख । जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय खेलमैदानमा पहिलोपटक महिला क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका आठवटै जिल्लाका महिला क्रिकेट टोली सहभागी भएका छन् ।
टुर्नामेन्ट उद्घाटन कार्यक्रममा बोल्दै खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशील कुमार साहले महिला खेलाडीलाई प्रोत्साहन गर्ने तथा मधेशमै सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले यस्ता प्रतियोगिताले खेलाडीहरूको मनोबल वृद्धि गर्नुका साथै अनुशासन र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सहयोग पुग्ने उल्लेख गरे ।
उनले मधेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै आगामी दिनमा खेलाडी र खेलकुद विकासका लागि अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले जनकपुरधामलाई प्राचीनकालदेखि नै प्रतियोगिताको भूमि रहेको स्मरण गराउँदै महिलाहरूका लागि रामजानकी रंगशालामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको बताए ।
उनले प्रतियोगिताले जिल्लामा रहेका प्रतिभावान महिला खेलाडी पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले रंगशाला निर्माणका लागि उपमहानगरपालिका सुरुदेखि नै सक्रिय रहेको उल्लेख गर्दै गुठी संस्थान र मन्त्रालयबीच समन्वय गरी रंगशालालाई शीघ्र पूर्णता दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले मैदान निर्माणपछि जनकपुरधाममा खेलकुद गतिविधि निरन्तर बढिरहेको र ‘मेयर कप’ जस्ता प्रतियोगिता नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए ।
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले प्रदेश सरकारले खेलाडीलाई अझ बढी प्राथमिकता दिनुपर्ने धारणा राखे ।
उनले घोषणा गरिएका पुरस्कार रकम अझै उपलब्ध नभएकोप्रति असन्तुष्टि जनाउँदै तत्काल वितरण गर्न आग्रह गरे ।
धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे ‘गुड्डु’ले अतिथि तथा सहभागी टोलीलाई स्वागत गरेको कार्यक्रममा क्रिकेट मैदान निर्माणमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।
मधेश खेलकुद परिषद्को अगुवाइ तथा धनुषा जिल्ला क्रिकेट संघको सहकार्यमा सुरु भएको प्रतियोगिता आठ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कुल १५ खेल हुनेछन् ।
प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बारा, पर्सा, रौतहट र सर्लाही रहेका छन् भने समूह ‘बी’ मा सप्तरी, धनुषा, महोत्तरी र सिरहा सहभागी छन् ।
लिग चरण सम्पन्न भएपछि फाइनल खेल जेठ ७ गते आयोजना गरिनेछ ।
उद्घाटन कार्यक्रममा मधेश खेलकुद परिषद्का सदस्य लव अधिकारी, प्रशासन प्रमुख मोहम्मद जियाउल इस्लाम, इन्जिनियर शिवचन्द्र यादव, पूर्व क्रिकेटर नवीन सिंह, गुलवन्त बहादुर सिंह, मधेश प्रदेश भलिबल संघका उपाध्यक्ष रविन्द्र यादव, महासचिव रामाशंकर चौधरी, वडा नम्बर १४ का अध्यक्ष पुण्यप्रताप यादवलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन धनुषा जिल्ला क्रिकेट संघका सदस्य सरोज मिश्रले गरेका थिए ।


























तस्बिरहरू: घनश्याम कुमार मिश्र


