जनकपुरधाम, ३१ बैशाख । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्दै जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यसहित ‘जनकपुरधाम सम्पदा यात्रा’ अभियान सञ्चालन हुन लागेको छ ।

अभियानअन्तर्गत जेठ २ गते शनिबार बिहान ८ बजे जानकी मन्दिर प्राङ्गणबाट सम्पदा यात्रा सुरु गरिने भएको हो ।

कार्यक्रममा सर्वसाधारण, युवा, बुद्धिजीवी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थालाई सहभागी हुन आग्रह गरिएको छ ।

प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई नेपालको ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको शहर भएकाले यसको सम्पदा संरक्षण सबैको साझा दायित्व भएको बताए ।

उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्य, स्थानीय तह र नागरिक समाजबीच समन्वय आवश्यक रहेको धारणा राखे ।

सांसद झाले जनकपुरधामको मौलिकता जोगाउन सम्पदा संरक्षण अभियानलाई जनस्तरसम्म विस्तार गर्नुपर्ने उल्लेख गर्दै सम्पदा यात्राले सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले सम्पूर्ण जनकपुरधामवासी तथा सम्पदा प्रेमीहरूलाई अभियानमा सहभागी भई जनकपुरधामको ऐतिहासिक गौरव जोगाउन योगदान दिन आग्रह गरेका छन् ।