निजी विद्यालय बन्द गर्ने हल्ला निराधार: मन्त्री पोखरेल

जनकपुरधाम, ३० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले निजी विद्यालयहरू बन्द हुने भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पार्दै सरकारले संस्थागत विद्यालयलाई शिक्षा क्षेत्रको सहयोगी साझेदारका रूपमा हेरेको बताएका छन् ।
जनकपुरधाममा बुधबार संस्थागत विद्यालयका सञ्चालकहरूसँग भएको छलफलमा मन्त्री पोखरेलले निजी विद्यालयहरूले देशमा रोजगारी सिर्जना र पूँजी निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे ।
उनले आफूले पदभार ग्रहण गर्नुअघि नै निजी विद्यालय बन्द गरिने भन्ने भ्रम फैलाइएकोप्रति दुःख व्यक्त गरे ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको बताउँदै कानूनअनुसार अनिवार्य गरिएको १० प्रतिशत छात्रवृत्ति निष्पक्ष र पारदर्शी ढंगले उपलब्ध गराउन निजी विद्यालय सञ्चालकहरूसँग आग्रह गरे ।
साथै, ऐन तथा नियमहरूको इमान्दारीपूर्वक पालना गर्न पनि उनले अनुरोध गरे । उनले पाठ्यक्रममा एकरूपता कायम गर्न व्यापक सुधार आवश्यक रहेको धारणा राखे ।
दुई दिनको सार्वजनिक बिदाको व्यवस्थाबारे बोल्दै मन्त्री पोखरेलले कतिपय देशमा यसले विद्यार्थी र शिक्षकलाई अझ उत्पादनशील बनाएको उदाहरण दिँदै नेपालमा पनि पठनपाठनमा असर नपर्ने गरी वर्षे बिदा ४५ दिनबाट घटाएर ३० दिनमा सीमित गरिएको बताए ।
संस्थागत विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगलगायत सरकारी निकायबाट प्रदान गरिने छात्रवृत्तिमा समान अवसर पाउनुपर्ने मागबारे प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई प्राथमिकता दिनु स्वाभाविक भएको बताए । यद्यपि, चिकित्सा शिक्षा ऐनमा व्यापक परिमार्जनको तयारी भइरहेको जानकारी पनि उनले दिए ।
छलफल कार्यक्रममा एनप्याब्सन, प्याब्सन, हिसानलगायत निजी विद्यालयसम्बद्ध संस्थाका प्रतिनिधि तथा विद्यालय सञ्चालकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा, स्थानीय नेता जितेन्द्र महासेठलगायतको पनि उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


