सप्तरी, ३० बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुला गाउँकी एक महिला मृत अवस्थामा फेला परेपछि स्थानीयमा सनसनी फैलिएको छ ।

स्थानीय छोटु भनिने वीरेन्द्र रायकी पत्नी अनितादेवी राय बुधबार सोही क्षेत्रको ‘नौ किलोमिटर’ भन्ने स्थान नजिक कोशी नदी किनारमा मृत भेटिएकी हुन् । प्रहरीले शव सडेगलेको अवस्थामा फेला परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार शवको हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका आधारमा ढुंगा प्रहार गरी हत्या गरिएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

अनिता गत बुधबार रातिदेखि सम्पर्कविहीन भएकी थिइन् । सो रात गाउँमा छिमेकीको विवाह समारोह भइरहेका कारण अधिकांश स्थानीय जन्तीमा व्यस्त रहेका थिए । परिवारका अनुसार अनिता घरमै एक्लै थिइन् ।

उनी हराएको रात घरको आँगनमा रगतसमेत देखिएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

मृतकका पति वीरेन्द्र राय वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन् । अनिताका दुई छोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी १३ वर्षकी रहेको बताइएको छ ।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।