परिवर्तनको घन्टी अझै बज्न बाँकी: डा. राजेन्द्र विमल

जनकपुरधाम, ६ चैत । नेपाली समाजमा समानता, अवसर र न्यायको वास्तविक अनुभूति अझै टाढा रहेको भन्दै वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले ‘परिवर्तन’ शब्दलाई राजनीतिक नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सामाजिक विभेद, आर्थिक असमानता र अवसरको असन्तुलन झल्काउने एक सशक्त कवितात्मक अभिव्यक्तिलाई आधार बनाउँदै उनले भने, ‘हामीले परिवर्तन आएको दाबी त गरिरहेका छौं । तर, त्यो परिवर्तनको घन्टी वास्तवमा बजेको छ कि छैन भन्ने प्रश्न अझै खुला छ ।’
डा. विमलका अनुसार साँचो परिवर्तन तब मात्र महसुस हुन्छ, जब सुदूर हिमाली क्षेत्रका विपन्न परिवारका बालबालिका र राजधानी वा सम्पन्न वर्गका सन्तानले एउटै स्तरको जीवनयापन गर्न पाउँछन् ।
‘लोमान्थाङको झुपडीमा जन्मिएको बच्चा र शहरको महलमा हुर्किएको बच्चाबीचको दूरी मेटिनु नै परिवर्तनको पहिलो संकेत हो,’ उनले भने ।
उनले शिक्षामा समान पहुँचलाई परिवर्तनको मुख्य आधार मानेका छन् ।
‘सिरहाको दलित बस्तीका बालबालिका र सम्पन्न परिवारका छोराछोरी एउटै कक्षाकोठामा, एउटै बेन्चमा बसेर बिना विभेद पढ्न पाउनु नै सामाजिक क्रान्ति हो,’ उनको भनाइ छ ।
स्वास्थ्य सेवामा देखिएको असमानताप्रति पनि उनले चिन्ता व्यक्त गरे । ‘जब देशका नेता, उनका परिवार र सामान्य नागरिक सबैले एउटै राष्ट्रिय अस्पतालमा भरोसा राख्छन्, त्यही दिन स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तन देखिन्छ,’ उनले थपे ।
डा. विमलले भौगोलिक र सामाजिक विभेद हटाउँदै अन्तरसमुदायबीचको सम्बन्ध विस्तारलाई पनि परिवर्तनको अर्को सूचक माने ।
‘जब हिमालदेखि तराईसम्मका परिवारबीच सम्बन्ध, बिहेवारी र सांस्कृतिक आदान प्रदान सहज हुन्छ तब मात्रै हामीले एकीकृत समाजको अनुभूति गर्छौं,’ उनले बताए ।
उनका अनुसार अहिलेको राजनीतिक परिवर्तनले संरचना बदले पनि सोच र व्यवहार परिवर्तन हुन अझै बाँकी रहेको छ ।
‘कागजमा लेखिएको परिवर्तन र जनजीवनमा देखिने परिवर्तन फरक कुरा हो । जबसम्म सबै नागरिकले समान अवसर, सम्मान र पहुँच पाउँदैनन् तबसम्म ‘परिवर्तनको घन्टी’ कल्पनामा मात्र बजिरहन्छ,’ उनले स्पष्ट पारे ।
समाजमा बढ्दो असमानता, वर्गीय विभाजन र अवसरको केन्द्रीकरणप्रति संकेत गर्दै उनले राज्यका नीति तथा कार्यक्रमहरू अझ समावेशी र परिणाममुखी हुनुपर्नेमा जोड दिए ।
‘परिवर्तन भाषणले नभई व्यवहारले प्रमाणित हुन्छ,’ उनले भने, ‘त्यो दिन जब प्रत्येक नागरिकले आफूलाई समान रूपमा राज्यको हिस्सा ठान्नेछ, त्यही दिन साँचो अर्थमा परिवर्तनको घन्टी टिङ्ग्रिङ बज्नेछ ।’


