जनकपुरधाम, ५ चैत । धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक महत्वले भरिएको जनकपुरधाम शहर केही भू–माफियाहरुका कारण विवादको केन्द्रमा तानिदैं गएको छ ।

मठमन्दिरका नाममा रहेको सार्वजनिक तथा धार्मिक सम्पत्तिमाथि संगठित ढंगले कब्जा, अवैध किनबेच र संरचनात्मक दोहन भइरहेको रहस्य खुलेको हो ।

यस विवादको केन्द्रमा छन् शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनिएका दुई नाम, गणेश साह र सुकेश्वर यादव । एकातर्फ उनीहरू सामाजिक क्षेत्रमा सेवा दिने संस्थाका सञ्चालकका रूपमा परिचित छन् भने अर्कोतर्फ उनीहरूमाथि मन्दिरको जग्गा कब्जा गरी निजी स्वार्थमा प्रयोग गरेको आरोप लागेको छ ।

पोखरी पुर्दै भवन निर्माणः घटना यसरी बाहिरियो
जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको एक मन्दिरको नाममा दर्ता रहेको पोखरी जब अचानक पुरिन थाल्यो, स्थानीयहरू चकित परे । वर्षौंदेखि अस्तित्वमा रहेको जलाशय एकाएक माटोले पुरिनु ‘विकास’ नभएर ठूलो खेल थियो ।

पोखरी पुर्ने काम तीव्र गतिमा अघि बढिरहेको बेला स्थानीयले विरोध जनाएपछि घटनाले सार्वजनिक रूप लियो । बुझ्दै जाँदा यो पोखरी पुर्ने विषय मात्र नभई मन्दिरको नाममा रहेको करोडौं मूल्य बराबरको जग्गा व्यक्तिको नाममा पास गरी शैक्षिक संरचना निर्माण गर्ने तयारी भइरहेको थियो ।

गणेश साह जनकपुरधाममा श्रीरामजानकी कोचिङ्ग सेन्टर र श्रीरामजानकी अस्पताल सञ्चालन गर्दै आएका व्यक्ति हुन् । त्यस्तै, सुकेश्वर यादव यादव एजुकेशन प्वाइन्ट इंग्लिस बोर्डिङ स्कूलका संस्थापकका रूपमा चिनिन्छन् ।

यी दुवै व्यक्ति लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएका भए पनि पछिल्लो खुलासाले उनीहरूको छविमा गम्भीर प्रश्न उठाएको छ । यी व्यक्तिहरूले मन्दिरको जग्गा खरिद गर्ने नाममा कब्जा गरी निजी संस्थान विस्तार गर्ने योजना बनाएको आरोप छ ।

नेपालको कानूनमा यदि कुनै जग्गा भगवानको नाममा दर्ता छ भने त्यसको किनबेच गर्न नपाइने स्पष्ट व्यवस्था छ । चाहे त्यो गुठी अन्तर्गत होस् वा निजी मठमन्दिर । तर, यस प्रकरणमा जग्गाधनी ‘भगवान श्री सीताराम’ रहेको स्पष्ट हुँदाहुँदै पनि संरक्षक भनिएका सुरेन्द्र कुमार लालमार्फत जग्गा बिक्री गरिएको छ । यो कानूनी उल्लंघन मात्र नभई धार्मिक आस्थामाथिको सीधा प्रहार पनि हो ।

भगवानको नाममा रहेको जग्गा व्यक्तिको नाममा कसरी पास भयो? भन्ने सवालमा मालपोत कार्यालयका तत्कालीन प्रमुख रामबाबु मण्डल रहेको बेला उक्त जग्गा रजिष्ट्रेशन गरिएको थियो । उनले मोटो रकम घुस लिएर कानूनी प्रक्रिया मिच्दै जग्गा व्यक्तिको नाममा सारिदिएको आरोप छ ।

साबिकको जनकपुर–४ (ख) कित्ता नम्बर १६६ अन्तर्गत रामानुज दास वैष्णवको नाममा रहेको ११ कट्ठा जग्गा हाल विभिन्न कित्तामा विभाजन गरिएको छ । सि.नं. १३९६–१८ को कि.नं. ५ को २ कट्ठा ५ धुर, सि.नं. १३९६–१७ को कि.नं. ६१ को ३ कट्ठा र कि.नं. ६० को १९ धुर (पोखरीको डिल) रहेको छ । यी जग्गाहरू संयुक्त रूपमा गणेश साहकी पत्नी पुष्पाञ्जली साहलगायत प्रमिला यादव, विजयकुमार सुनरैत यादव र रंजेश कुमार सिंहको नाममा पास गरिएको छ । यसमध्ये पोखरी नै रहेको क्षेत्रलाई पुरेर संरचना निर्माण गर्न लाग्दा विवाद सतहमा आएको हो ।

यो पहिलो घटना भने होइन । यसअघि सोही मन्दिर अन्तर्गत रहेको साबिकको जनकपुर–४ (ख) को कि.नं. १४४ को १० कट्ठा १८ धुरमध्ये हालको १३९६—२२ को कि.नं. ५७ को ९ कट्ठा १३ धुर जग्गा समेत अवैध तरिकाले खरीद गरेको नाममा कब्जा गरी त्यसमा श्रीरामजानकी कोचिङ्ग सेन्टर सञ्चालन गरिरहेका छन् । त्यसैगरी, जानकी मन्दिरको फुलबारी भनिएको जग्गा लिजको नाममा कब्जा गरी श्रीराम जानकी अस्पताल सञ्चालन भइरहेको छ । यो एकपटकको घटना नभई लामो समयदेखि चल्दै आएको योजनाबद्ध प्रक्रिया छ ।

यस विवादको जरो निकै पुरानो छ । वि.सं. २०२६ सालको सर्वे नापीमा उक्त जग्गा रामानुज दास वैष्णवको नाममा थियो । पछि २०४४ सालको नापीमा विभिन्न व्यक्तिहरूको नाममा दर्ता गरियो । त्यसक्रममा एक मन्दिरका पुजारी चर्तुभुज लाल कायस्थले आफू संरक्षक बनेर ठूलो क्षेत्रफल आफ्नो नियन्त्रणमा लिए । २०४१ सालमै उनले संरक्षकको जिम्मेवारी आफ्नो भाइ चन्द्रनारायणलाई सुम्पिए । २०७४ मा चन्द्रनारायणको निधनपछि २०७५ मा चर्तुभुजका छोरा सुरेन्द्रले संरक्षकको जिम्मेवारी आफूले लिए ।

मिलेमतोको सञ्जालः साक्षी नै बने खरिदकर्ता
अचम्मलाग्दो तथ्य के छ भने जग्गा खरिद गर्नेहरूमध्येका विजयकुमार सुनरैत यादव र रंजेश कुमार सिंहले सुरेन्द्रलाई संरक्षक बनाउन गरिएको सर्जमिनका साक्षी हुन् । यसले यो स्पष्ट हुन्छ कि पहिले संरक्षकको जिम्मेवारी सुनिश्चित गरियो त्यसपछि त्यही संरक्षकमार्फत जग्गा खरिद गर्ने योजना बनाइयो । यो योजनाबद्ध मिलेमतोको प्रमाण हो ।

सुकेश्वर यादवले कि.नं. ६१ को ३ कट्ठा जग्गा खरिद गर्न सुरेन्द्रलाई २०७६ सालमै १५ लाख रुपैयाँ पेश्की दिएका थिए । तर, लामो समयसम्म नामसारी नभएपछि विवाद चर्कियो । अन्ततः बाँकी रहेको पोखरी नै पुरेर कब्जा गर्ने प्रयास गरियो । अहिले आएर यसले घटनालाई सार्वजनिक बनायो ।

घटनाले मोड लिँदा संरक्षक सुरेन्द्र स्वयंले जग्गा बिक्री नगरेको दाबी गर्दै उजुरी दिएका छन् । उनले गणेश साह र सुकेश्वर यादवले बलजफती कब्जा गर्न खोजिरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकामा चैत २ गते निवेदन दिएका छन् । यसले घटनालाई अझ जटिल बनाएको छ । किनभने कागजमा जग्गा बिक्री भएको देखिन्छ । तर, संरक्षक आफैंले अस्वीकार गरेका छन् ।

गुठी संस्थान केन्द्रीय कार्यालयका प्रवक्ता जनक पोखरेल भन्छन्, ‘संस्थानको अनुमति बिना जग्गा बिक्री गर्न मिल्दैन । र, यदि जग्गा भगवानको नाममा छ भने त्यो कुनै हालतमा बेच्न पाइँदैन ।’ उनका अनुसार यस प्रकरणमा जग्गाधनी भगवान भएकाले बिक्री नै अवैध हो । अब प्रश्न उठ्छ कि कानून यति स्पष्ट हुँदाहुँदै पनि यस्तो कसरी सम्भव भयो?

यस विषयमा गणेश साहले आफूले कुनै अवैध काम नगरेको दाबी गरेका छन् । उनले भने, ‘हामीले कानूनी प्रक्रिया पूरा गरेर जग्गा खरिद गरेका हौं । मालपोत कार्यालयले पास गरिदिएको छ भने त्यसमा हाम्रो दोष कहाँ हुन्छ?’

सुकेश्वर यादवले पनि आफूले वैध रूपमा जग्गा खरिद गरेको दाबी गरेका छन् । उनले भने, ‘मैले २०७६ सालमै १५ लाख रुपैयाँ पेश्की दिएको हुँ । जग्गा किन्ने सम्झौता भइसकेको थियो । अहिले आएर अनावश्यक विवाद सिर्जना गरिएको छ ।’

उनका अनुसार लामो समयसम्म नामसारी नभएपछि आफूले आफ्नो हकको जग्गा प्रयोग गर्न खोज्दा विवाद निकालिएको हो । ‘मैले कसैको जग्गा कब्जा गरेको छैन, मैले त आफ्नो किनिएको जग्गा उपयोग गर्न खोजेको हुँ,’ उनले भने ।

यता, संरक्षक भनिएका सुरेन्द्रले जनकपुरधाम उपमहानगरपालिकामा दिएको निवेदनमा गणेश साह र सुकेश्वर यादवले बलजफती रूपमा मन्दिरको जग्गा कब्जा गर्न खोजिरहेको आरोप लगाएका छन् ।

घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय सक्रिय भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा बुधबार बसेको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा मालपोत कार्यालयका अधिकृत सिंहलाल स्याङ्गबा (संयोजक), गुठी संस्थान जनकपुरधामका प्रमुख किशोर कुमार झा र नापी कार्यालयका प्रमुख उमेश कुमार रहेका छन् । समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

यो पनि पढनुहोस्

जनकपुरधामः गुठीको जग्गामा भूमाफियाको तानातानी, मन्दिरको आम्दानीमा महन्थको मनोमानी